देश

अव्यवस्थित सडक र जटिल भूगोलले दुर्घटना बढायो : आईजीपी कार्की

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की ले देशको जटिल भू–गोल र कमजोर सडक संरचनाका कारण सवारी दुर्घटनाको दर बढ्दै गएको बताएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले ग्रामीण क्षेत्रमा जथाभावी निर्माण गरिएका सडक र कमजोर इन्जिनियरिङका कारण दुर्घटनाको जोखिम थप बढेको उल्लेख गरे ।

आईजीपी कार्कीका अनुसार देशभर दैनिक औसत आठ जनासम्मको मृत्यु सवारी दुर्घटनाबाट हुने अवस्था गम्भीर चिन्ताको विषय बनेको छ । उनले स्थानीय तहको पहलमा निर्माण गरिएका सडकहरू प्राविधिक मापदण्डअनुसार नहुँदा समस्या झन् बढेको बताए ।

उनले जलवायु परिवर्तनका कारण बाढी, पहिरो र मनसुनजन्य विपद् बढिरहेको उल्लेख गर्दै त्यसले पनि सडक दुर्घटनाको जोखिम थपिरहेको बताए ।

कार्कीले सडक दुर्घटना नियन्त्रण राज्य, यातायात व्यवसायी, मजदुर तथा आम नागरिक सबैको साझा जिम्मेवारी भएको भन्दै सबै पक्षले समन्वय गरेर समाधान खोज्नुपर्नेमा जोड दिए ।

उनका अनुसार विशेषगरी चाडपर्वका समयमा हुने ठूला दुर्घटनाले मानवीय क्षतिसँगै देशलाई ठूलो आर्थिक भारसमेत थपिरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *