देश

व्यवस्थापन गर, विस्थापन होइन, रूपन्देहीमा सुकुम्वासीको सडक प्रदर्शन

काठमाडौं । विकल्पबिनै बस्ती हटाउन खोजिएको आरोप लगाउँदै भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीले बुटवलमा विरोध प्रदर्शन गरेका छन्। नेपाल भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति रूपन्देहीको आयोजनामा भएको प्रदर्शनमा जिल्लाका विभिन्न बस्तीबाट आएका प्रतिनिधिहरू सहभागी भएका थिए। प्रदर्शनकारीहरूले वास्तविक भूमिहीन नागरिकको पहिचान गरी विगतमा भूमि आयोगमार्फत सुरु गरिएको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन सरकारसँग माग गरेका छन्।

उनीहरूले वैकल्पिक बसोबासको सुनिश्चितता नगरी बस्ती खाली गराउने सरकारी कदम अमानवीय भएको भन्दै तत्काल रोक्न आग्रह गरेका छन्। प्रदर्शनका क्रममा सहभागीहरूले “डोजर आतंक बन्द गर”, “नागरिकलाई विस्थापित होइन, स्थापित गर” लगायतका नारासहित प्लेकार्ड प्रदर्शन गरेका थिए। प्रदर्शनकारीहरूले काठमाडौं महानगरका मेयर बालेन्द्र शाह विरुद्ध पनि नाराबाजी गरेका थिए। सुकुम्वासी बस्ती हटाउने शैलीलाई ‘दमनकारी’ भन्दै उनीहरूले जनप्रतिनिधिले नागरिकको पुनर्स्थापनालाई प्राथमिकता दिनुपर्ने धारणा राखे।

बुटवलको राजमार्ग चौराहाबाट सुरु भएको र्‍याली अस्पताल लाइन हुँदै ट्राफिक चोकमा पुगेर सभामा परिणत भएको थियो। रूपन्देहीमा भूमिहीन दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीका ८० हजारभन्दा बढी व्यक्तिले विघटित भूमि समस्या समाधान आयोगमा निवेदन दिएका थिए। तर, समस्या समाधानको प्रक्रिया अन्योलमा परिरहेका बेला बस्ती खाली गराउने प्रयास बढेपछि उनीहरू आन्दोलनमा उत्रिएको संघर्ष समितिले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *