देश

लिपुलेक विवाद र सुकुम्बासी नीति एकैसाथ उठाउँदै हर्क साम्पाङद्धारा सरकारको ध्यानाकर्षण,गम्भिर विषयमा सरकार कहाँ लुक्यो ?

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद हर्कराज साम्पाङ राईले प्रतिनिधिसभामा लिपुलेक क्षेत्रमा भारतले नाका खोल्ने विषय र सरकारको मौनतामाथि गम्भीर प्रश्न उठाएका छन्। आकस्मिक समयमा बोल्दै उनले सीमा सुरक्षा र आन्तरिक नीतिबीच सरकारको प्राथमिकता असन्तुलित देखिएको टिप्पणी गरे।

सांसद राईले छिमेकी मुलुकले नेपालको भूमि प्रयोग गरेर नाका सञ्चालन गर्दा सरकार किन मौन बसेको भन्दै प्रश्न गरे। उनले सीमा रक्षा गर्न नेपाली सेना परिचालन गरिएको हो कि सुकुम्बासी बस्ती हटाउन प्रयोग गरिएको हो भन्ने व्यङ्ग्यात्मक टिप्पणीसमेत गरे।

उनले सरकार जनताको अभिभावक बन्न नसकेको आरोप लगाउँदै सुकुम्बासीलाई प्रभावित पार्ने कदमप्रति असन्तुष्टि जनाए। राईका अनुसार संवैधानिक व्यवस्थाको पालना नगर्ने सरकारको नैतिक आधारमाथि पनि प्रश्न उठ्छ।

सांसद राईले प्रधानमन्त्रीको उपस्थितिलाई लिएर पनि कटाक्ष गर्दै सरकारको प्राथमिकता जनतासँग नजोडिएको टिप्पणी गरे। उनले प्रधानमन्त्री सुकुम्बासी बस्तीको अवस्था बुझ्न नजाने तर प्रशासनिक कार्यकक्षमा सीमित रहेको आरोप लगाए।

त्यसैगरी उनले संवैधानिक परिषद्को निर्णय प्रक्रियामाथि पनि प्रश्न उठाउँदै बहुमत र गणनासम्बन्धी आधारमै अस्पष्टता रहेको भन्दै सरकारको गणितीय समझमाथि व्यङ्ग्य गरे।

सांसद राईको अभिव्यक्तिपछि सदनमा केहीबेर चर्चा भएको थियो। उनले सरकारलाई जनताप्रति उत्तरदायी बन्न र सीमा तथा आन्तरिक नीति दुवैमा स्पष्टता ल्याउन आग्रह गरेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *