काठमाडौं । चालु आर्थिक वर्ष २०८२ /०८३ को १० महिनामा सरकारले कुल ११ खर्ब ५३ अर्ब रुपैयाँ बजेट खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालय का अनुसार यो चालु वर्षका लागि विनियोजित कुल बजेटको ५८।७५ प्रतिशत हो ।
सरकारले चालु आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब रुपैयाँको बजेट ल्याएको थियो । त्यसमध्ये सबैभन्दा बढी खर्च चालुतर्फ भएको देखिएको छ । चालु शीर्षकमा विनियोजित ११ खर्ब ८० अर्बमध्ये ८ खर्ब ९ अर्ब रुपैयाँ खर्च भइसकेको छ, जुन उक्त शीर्षकको ६८.०४ प्रतिशत हो । कार्यालयका अनुसार चालु खर्चमा सरकारी संयन्त्र सञ्चालन, प्रशासनिक काम तथा नियमित दायित्वअन्तर्गतका खर्च समावेश हुने गर्छन् ।
यता, विकास निर्माणसँग जोडिएको पुँजीगत खर्च भने अपेक्षाअनुसार बढ्न सकेको छैन । सरकारले पुँजीगत शीर्षकमा ४ खर्ब ७ अर्ब रुपैयाँ विनियोजन गरेकामा हालसम्म १ खर्ब ९ अर्ब रुपैयाँ मात्र खर्च भएको छ । यो कुल पुँजीगत बजेटको २६.८७ प्रतिशत हो ।
विशेषगरी मध्यपूर्वमा बढेको तनावका कारण निर्माण सामग्री तथा बिटुमिन इन्धनको आपूर्तिमा समस्या आउँदा विकास आयोजनाको काम प्रभावित भएको र त्यसको असर पुँजीगत खर्चमा देखिएको बताइएको छ । त्यस्तै, वित्तीय व्यवस्थातर्फ छुट्याइएको ३ खर्ब ७५ अर्बमध्ये सरकारले २ खर्ब ४० अर्ब रुपैयाँ खर्च गरेको छ, जुन ६४.१६ प्रतिशत हो । यो शीर्षकअन्तर्गत मुख्य रूपमा सावाँ–ब्याज भुक्तानी गरिने गर्छ ।
राजस्व संकलनतर्फ भने सरकारले १४ खर्ब ८० अर्ब उठाउने लक्ष्य राखेकामा हालसम्म ९ खर्ब ७० अर्ब रुपैयाँ मात्रै संकलन गर्न सकेको विवरण सार्वजनिक भएको छ ।




