काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को नेतृत्व अब अञ्जन श्रेष्ठले सम्हालेका छन्। वरिष्ठ उपाध्यक्षको हैसियतबाट स्वतः अध्यक्ष बनेसँगै उनले देशभरका उद्योगी–व्यवसायीको प्रतिनिधित्व गर्ने जिम्मेवारी पाएका हुन्। महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था अनुसार उनी २१औँ अध्यक्षका रूपमा पदभार सम्हालेका हुन्। यसअघि महासंघको नेतृत्व चन्द्रप्रसाद ढकालले गर्दै आएका थिए। श्रेष्ठले आगामी तीन वर्ष निजी क्षेत्रको नेतृत्व गर्नेछन्।
करीब पाँच लाखभन्दा बढी उद्यमी–व्यवसायी आबद्ध महासंघको देशव्यापी सञ्जाल छ, जसले सरकारसँग सहकार्य गर्दै आर्थिक नीतिमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ। यस्तो सन्दर्भमा श्रेष्ठको नेतृत्वलाई निजी क्षेत्रको नयाँ चरणको रूपमा हेरिएको छ। लामो समयदेखि महासंघमा सक्रिय रहेका श्रेष्ठले २०५९ सालमा कार्यसमिति सदस्यबाट आफ्नो यात्रा सुरु गरेका थिए। त्यसयता उनले विभिन्न जिम्मेवारी सम्हाल्दै निजी क्षेत्रको नेतृत्वमा अनुभव बटुलेका छन्। व्यवसायिक पृष्ठभूमिमा उनी लक्ष्मी ग्रुपसँग आबद्ध छन्, जसले कन्फेक्सनरी, प्याकेजिङ, स्टिल र अटोमोबाइल क्षेत्रमा लगानी विस्तार गरेको छ। चकलेटदेखि अटोमोबाइलसम्म फैलिएको व्यवसायिक अनुभवले उनलाई विविध क्षेत्रको समझ प्रदान गरेको मानिन्छ।
श्रेष्ठले पदभार सम्हाल्नुअघि नै आफ्नो प्राथमिकताहरू सार्वजनिक गर्दै उद्यमीहरूको हित संरक्षण, आत्मविश्वास वृद्धि र अर्थतन्त्र विस्तारलाई केन्द्रमा राख्ने बताएका छन्। निजी क्षेत्रले अर्थतन्त्रमा ठूलो योगदान दिँदै आएको उल्लेख गर्दै उनले सरकारसँग सहकार्य गरेर आर्थिक गतिविधि तीव्र बनाउने लक्ष्य राखेका छन्। हालको आर्थिक अवस्थालाई अवसर र चुनौती दुवै रूपमा चित्रण गर्दै उनले नीति स्थिरता, लगानीमैत्री वातावरण र निजी क्षेत्रको मनोबल पुनःस्थापना गर्न आवश्यक रहेको बताएका छन्। साथै, युवा पुस्तालाई उद्यमशीलतामा आकर्षित गर्ने र अर्थतन्त्रलाई गतिशील बनाउने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।
नयाँ नेतृत्वसँगै महासंघले सरकार र अन्य सरोकारवालासँग सहकार्य बढाउँदै निजी क्षेत्रलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।




