काठमाडौं । विपक्षी दलहरूको बैठक आज बस्दैछ । बैठक बिहान साढे ११ बजे एमाले संसदीय दलको कार्यालयमा बस्ने तय भएको हो ।
यसअघि बुधबार कांग्रेस संसदीय दलको कार्यालयमा भीष्मराज आङ्देम्बेको अध्यक्षतामा विपक्षी दलहरूको बैठक बसेको थियो । उक्त बैठकमा श्रम संस्कृति बाहेक चार दलका प्रतिनिधि सहभागी भएका थिए ।
आजको बैठक नेकपाका प्रमुख सचेतक युवराज दुलालका अनुसार एमाले संसदीय दलको कार्यालयमा बस्न लागेको हो । बैठकमा सरकारले ल्याएका अध्यादेशका विषयमा विस्तृत छलफल हुने बताइएको छ ।
सरकारले एकैपटक ६ वटा अध्यादेश सिफारिस गरेपछि विपक्षी दलहरू साझा धारणा बनाउन सक्रिय भएका छन् । उता, राष्ट्रपति रामचन्द्र पौडेलले पनि सोही विषयमा संविधानविद्सँग परामर्श गर्ने कार्यक्रम तय गरेका छन् ।




