देश

अध्यादेशविरुद्ध साझा धारणा बनाउन विपक्षी दलहरूको बैठक बोलाइयो

काठमाडौं । सरकारले संवैधानिक परिषद् सम्बन्धी र सहकारी सम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेपछि त्यसबारे साझा धारणा बनाउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरूको बैठक बोलाएको छ।

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बुधबार दिउँसो १२ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बोलाउनुभएको हो। बैठकमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेताहरूलाई आमन्त्रण गरिएको छ।

बैठकमा सरकारले संसद छलेर अध्यादेश ल्याएको विषय, त्यसको राजनीतिक प्रभाव र आगामी प्रतिवाद रणनीतिबारे छलफल हुने बताइएको छ।मंगलबार राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि अध्यादेश पुगेपछि मात्र सरकारको संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश अघि बढेको सार्वजनिक भएको थियो। यसप्रति विपक्षी दलहरूले असन्तुष्टि जनाएका छन्।

कांग्रेस संसदीय दलका नेता आङ्देम्बेले सरकारको कदमलाई अलोकतान्त्रिक र संसदको अपमान भएको टिप्पणी गर्दै लोकतन्त्र, संविधान र जनअभिमतको मर्म कमजोर हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सरकारको अध्यादेशप्रति विभिन्न विपक्षी दलहरूले पनि आपत्ति जनाउँदै आएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *