काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हुँदैछ । पार्टी सहमहामन्त्री प्रकाश स्नेही रसाइलीको संयोजकत्वमा गठित निर्वाचन समितिले वैशाख ७ गते सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार आज उम्मेदवारी दर्ता र मतदान दुवै प्रक्रिया सम्पन्न हुनेछन् ।
निर्वाचन समितिमा केन्द्रीय सदस्य मुना भुसाल र अधिवक्ता राजु कटवाल सदस्य छन् । यसअघि बिहीबार मतदाताको नामावली प्रकाशित गरिएको थियो । उम्मेदवारी दर्ताका लागि दिउँसो ३ बजेदेखि समय तोकिएको छ भने मतदान अपराह्न ५ बजेदेखि सुरु हुने बताइएको छ ।
प्रतिनिधिसभामा कांग्रेसका ३८ सांसद छन्, जसमा प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० सांसद रहेका छन् । प्रमुख प्रतिपक्षी दलको नेता संवैधानिक परिषद्को सदस्यसमेत हुने भएकाले पदका लागि चासो बढेको छ ।
हालसम्म भीष्मराज आङ्देम्बे, अर्जुननरसिंह केसी र मोहन आचार्यले संसदीय दलको नेताका लागि दाबी प्रस्तुत गरेका छन् । नेताहरूले आ–आफ्नो पक्षमा समर्थन जुटाउने प्रयास जारी राखेका छन् ।
दलभित्र संस्थापन र इतर समूहबीचको समीकरणका कारण सहमति हुन नसकेको नेताहरूले बताएका छन् । सहमतिको प्रयास जारी रहे पनि निर्वाचनबाटै नेता चयन हुने सम्भावना प्रबल देखिएको छ ।




