देश

कांग्रेस संसदीय दलको नेता चयनमा ढिलाइ, आन्तरिक शक्ति संघर्ष सतहमा

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन सम्पन्न भई दोस्रो अधिवेशन सुरु हुन लाग्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न सकेको छैन । पटक–पटक तालिका बने पनि अन्तिम समयमा प्रक्रिया स्थगित भएपछि पार्टीभित्रको आन्तरिक शक्ति संघर्ष खुलेर देखिन थालेको छ ।

यसअघि वैशाख ४ गते नेता चयन गर्ने भनिए पनि सहमति नजुटेपछि प्रक्रिया वैशाख ११ गतेका लागि सारिएको थियो । तर त्यस दिन पनि मनोनयन दर्ता स्थगित गरिएको छ । अहिले उपसभापति र महामन्त्रीहरूलाई सहमति खोज्ने जिम्मेवारी दिइएको छ ।

संसदीय दलको नेताका लागि अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे र मोहन आचार्यको नाम चर्चामा छ । प्रत्यक्ष र समानुपातिक सांसदको प्रतिनिधित्व, अनुभव र मापदण्डबारे मतभेद देखिँदा निर्णयमा ढिलाइ भएको बताइन्छ ।

पार्टीभित्र गगन थापा, विश्वप्रकाश शर्मा लगायत शीर्ष नेताबीच फरक धारणा रहेको चर्चा भए पनि नेताहरूले यसलाई मतभेद नभई सुझावको रूपमा व्याख्या गरेका छन् ।

महामन्त्री गुरुराज घिमिरेका अनुसार केही दिनभित्रै सहमति वा मतदानमार्फत नेता चयन गरिनेछ । तर विश्लेषकहरूले कांग्रेसको ढिलाइलाई आन्तरिक अस्थिरताको संकेत भन्दै आलोचना गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसले नेता चयन गर्न नसक्दा संवैधानिक र संसदीय कामकारबाहीमा समेत प्रभाव परेको टिप्पणी गरिएको छ । संसद्मा अन्य दलहरूले नेतृत्व चयन गरिसक्दा कांग्रेस भने अझै निर्णयविहीन अवस्थामा देखिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *