काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइयङ र अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले छुट्टाछुट्टै शिष्टाचार भेट गरेका छन् ।
अमेरिकी कार्यवाहक राजदूत अर्बमसँगको भेटमा नेपालको डिजिटल रूपान्तरण, सूचना प्रविधि र दूरसञ्चार क्षेत्रको विकासका लागि द्विपक्षीय सहकार्य, सहयोग र समन्वय सुदृढ बनाउने विषयमा छलफल भएको थियो । उनले नेपालमा आईटी क्षेत्रको विकासका लागि अमेरिका सहयोग गर्न तयार रहेको बताउँदै उपयुक्त नीति तथा लगानीमैत्री वातावरण निर्माण गर्न सके वैदेशिक लगानी आकर्षित हुने धारणा व्यक्त गरे ।
मन्त्री तिमिल्सिनाले नेपाल–अमेरिका सम्बन्ध आपसी सम्मान र सहयोगमा आधारित रहेको उल्लेख गर्दै अमेरिकाले नेपालको सामाजिक–आर्थिक विकासमा पुर्याएको योगदानप्रति धन्यवाद व्यक्त गरे । उनले सरकार सुशासन, पारदर्शिता र संस्थागत सुधारमा केन्द्रित रहेको बताउँदै सूचना प्रविधि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन आवश्यक नीतिगत सुधार अघि बढाइएको जानकारी दिए ।
त्यसैगरी कोरियाली राजदूत पार्क ताइयङसँगको भेटमा डिजिटल रूपान्तरण, डिजिटल अर्थतन्त्र र कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको थियो । राजदूत पार्कले सूचना प्रविधि, कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रमा कोरियाले नेपाललाई निरन्तर सहयोग गर्दै आएको उल्लेख गरे । उनले लगानीमैत्री वातावरण बने प्रत्यक्ष वैदेशिक लगानी बढ्ने विश्वास पनि व्यक्त गरे ।
मन्त्री तिमिल्सिनाले नेपाल–दक्षिण कोरिया सम्बन्ध आपसी विश्वासमा आधारित रहेको उल्लेख गर्दै कोरियाको सहयोगप्रति आभार व्यक्त गरे । उनले डिजिटल पूर्वाधार, क्लाउड टेक्नोलोजी तथा साइबर सुरक्षाजस्ता क्षेत्रमा सहकार्य विस्तार गर्न सरकार तयार रहेको बताए । साथै, कोरियाली लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गर्दै सरकारले आवश्यक वातावरण तयार गर्ने प्रतिबद्धता जनाए ।
भेटवार्तामा मन्त्रालय, परराष्ट्र मन्त्रालय तथा दुवै दूतावासका अधिकारीहरूको उपस्थिति रहेको थियो।




