देश

यस्ता छन् मन्त्री सीता वादीले गर्दिनँ भनेका १० काम

काठमाडौं । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सीता वादीले आफूले नगर्ने १० ओटा सूची सार्वजनिक गरेकी छिन् । मन्त्री भएको पाँच साताको अनुभव बाँड्दै उनले आज मंगलबार सामाजिक सञ्जालमार्फत १० बुँदामा आफ्नो अनुभव र प्रतिबद्धता व्यक्त गरेकी हुन् ।

उनले भनेकी छिन्, ‘भोट दिएको हुँ भन्ने आधारमा दबाब वा प्रभावमा काम गरेको छैन र सबै नागरिकलाई समान सेवा गरेकी छु ।’

यस्ता छन् उनले गर्दिन भनेका कामहरू

१. नातागोता, सम्बन्ध वा चिनजानको आधारमा जागिर लगाउने, नियुक्ति दिने तथा स्वार्थप्रेरित सरुवा–बढुवा मिलाउने काम गर्दिनँ ।
२. कानुनविपरीत भनसुन गर्ने वा शक्तिको दुरुपयोग गर्दिनँ ।
३. कानुन वा नियम उल्लंघन गर्ने व्यक्तिको संरक्षण गर्ने वा गलत काम गर्ने व्यक्तिलाई कानुनी कारबाहीबाट बचाउने काम गर्दिनँ ।
४. लागूऔषध, ठगी, जालसाजी, कुटपिट, तस्करीजस्ता अपराधमा संलग्न कुनै पनि व्यक्तिको संरक्षण गर्दिनँ ।
५. कुनै पनि बहानामा कमिसन, घुस लिने वा भ्रष्टाचार गर्ने–गराउने काममा संलग्न हुने छैन । त्यस्तो कार्य भएको जानकारी पाएमा त्यसविरुद्ध सशक्तरूपमा उभिनेछु ।
६. विशेषगरी महिला, दलित, बालबालिका, ज्येष्ठ नागरिक, यौनिक तथा लैंगिक अल्पसंख्यक, अपांगता भएका व्यक्ति वा कुनै पनि सीमान्तकृत समुदायमाथि हुने हिंसा र अन्यायविरुद्ध सधैँ लड्नेछु । यस्ता मुद्दामा कुनै सम्झौता हुने छैन ।७. राज्यका कुनै पनि स्रोतसाधनको दुरुपयोग गर्दिनँ ।
८. सरकारी सेवा छिटो गराइदिन स्क्रिन सट खोज्ने, सिफारिस मिलाइदिन वा स्रोतसाधन निजी प्रयोजनमा प्रयोग गराउने प्रयास स्वीकार गर्दिनँ ।९. मन्त्री सुविधाका नाममा अनावश्यक सुविधा क्वार्टर, घरभाडा वा कूटनीतिक राहदानी लिने छैन ।१०. ‘भोट दिएको हुँ’ भन्ने आधारमा दबाब वा प्रभावमा पर्ने छैन । सबै नागरिकलाई समानरूपमा सेवा गर्नेछु । विशेषगरी कमजोर र सीमान्तकृत वर्गलाई प्राथमिकता दिनेछु ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *