देश

आन्तरिक असन्तुष्टि घटाउन गगनको पहल, पुर्णबहादुर खड्का र शेखर पक्षसँग निरन्तर संवाद

काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनपछि उत्पन्न विवाद समाधानका लागि सभापति गगन थापाले असन्तुष्ट समूहसँग सहमतिको प्रयास अघि बढाएका छन्। पार्टीलाई एकताबद्ध बनाउने उद्देश्यसहित थापाले पूर्णबहादुर खड्का र डा. शेखर कोइराला पक्षसँग संवादलाई निरन्तरता दिएका हुन्।

पार्टी स्रोतका अनुसार थापाले केन्द्रीय समितिमा देउवा समूहबाट २० जना र शेखर समूहबाट १० जना सदस्य समेट्ने प्रस्ताव राखेका छन्। साथै निर्वाचन समिति र क्रियाशील सदस्यता व्यवस्थापन समितिलाई विस्तार गर्दै दुवै पक्षबाट प्रतिनिधित्व गराउने विकल्प पनि अघि सारिएको छ। सभापति थापाले वैशाख महिनाभरि दुवै नेतासँग छुट्टाछुट्टै भेटघाट गरेर सहमतिका आधार खोजेका थिए। तर, देउवा र शेखर पक्षले भने १४औँ महाधिवेशनबाट निर्वाचित सबै नेताहरूलाई सम्मानजनक सहभागिता सुनिश्चित नगरी प्रस्ताव स्वीकार गर्न नसकिने अडान राखेका छन्।

विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वलाई सर्वोच्च अदालतले वैधानिकता दिए पनि कांग्रेसभित्रको विवाद पूर्ण रूपमा साम्य भइसकेको छैन। यही अवस्थामा पार्टीभित्र सहकार्य र समन्वय बढाउने रणनीतिमा सभापति थापा सक्रिय देखिएका छन्। नेताहरूका अनुसार आगामी महाधिवेशनलाई लक्षित गर्दै संगठनात्मक संरचनामा सबै पक्षलाई सहभागी गराउने विषयमा कांग्रेसभित्र थप छलफल जारी रहनेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *