काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि मंगलबार हुने निर्वाचनअघि चुनावी प्रतिस्पर्धा तीव्र बनेको छ। ७३ पदका लागि १३७ जना उम्मेदवार मैदानमा उत्रिएपछि महासंघभित्र चुनावी सरगर्मी उच्च भएको हो।
महासंघको ६०औँ वार्षिक साधारण सभा सम्पन्न भएसँगै बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुने कार्यतालिका तय गरिएको छ। यसपटकको चुनाव विशेषगरी वरिष्ठ उपाध्यक्ष पदमा केन्द्रित देखिएको छ, जसलाई भावी नेतृत्वको ‘मुख्य प्रवेशद्वार’ का रूपमा हेरिन्छ। वर्तमान विधानअनुसार वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्नेछन्। बाँकी पदहरूका लागि भने निर्वाचनमार्फत नेतृत्व चयन गरिनेछ। यही सन्दर्भमा दुई प्रमुख प्यानलबीच कडा प्रतिस्पर्धा देखिएको छ।
एकातर्फ हेमराज ढकाल नेतृत्वको समूह चुनावी मैदानमा छ, जसलाई महासंघका पूर्वअध्यक्षहरूको बलियो साथ रहेको छ। महासंघका वर्तमान अध्यक्ष चन्द्र ढकालले करिब दुई वर्षदेखि तयारी गर्दै आएका छन् र उनको प्यानलले लगानी सुरक्षा, सुशासन र आर्थिक सुधारलाई मुख्य एजेण्डा बनाएको छ। अर्कोतर्फ अञ्जन श्रेष्ठको समर्थनमा अर्को प्यानल सक्रिय छ। यस समूहले पनि आफ्नो टिमसहित चुनावी रणनीति अघि बढाएको छ, यद्यपि वरिष्ठ उपाध्यक्षका उम्मेदवारको नाम अन्तिम रूपमा सार्वजनिक हुन बाँकी रहेको छ। यस प्यानलमा प्रवलजंग पाण्डे, शिवप्रसाद घिमिरे लगायतका व्यवसायीहरू प्रमुख रूपमा देखिएका छन्।
निर्वाचन समितिका अनुसार जिल्लानगर, वस्तुगत, एसोसिएट्स, द्विराष्ट्रिय तथा संस्थापक समूहका विभिन्न क्लस्टरअन्तर्गत उम्मेदवारी परेको छ। करिब १,८९२ संघ–संस्थाका प्रतिनिधिहरूले मतदानमार्फत नयाँ नेतृत्व चयन गर्नेछन्। यसबीच, मुलुकमा स्थिर सरकार गठन भए पनि निजी क्षेत्र पछिल्लो समय विभिन्न घटनाक्रमले केही त्रसित देखिएको छ। यस्तै पृष्ठभूमिमा महासंघको नेतृत्व चयनलाई निजी क्षेत्रको भावी दिशा निर्धारण गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। महासंघको यो चुनाव केवल पदाधिकारी चयनमा सीमित नभई निजी क्षेत्रको नेतृत्व, नीतिगत प्राथमिकता र भविष्यको रणनीतिसँग प्रत्यक्ष जोडिएको प्रतिस्पर्धाका रूपमा विकसित भएको छ।




