देश

सीमा रक्षाका लागि अविलम्ब कूटनीतिक पहल गर्न सरकारलाई सात पूर्वराजदूतको आग्रह

काठमाडौँ । चीनका लागि नेपालका सात पूर्वराजदूतहरूले सीमा विवाद समाधानका लागि तत्काल कूटनीतिक पहल गर्न सरकारसँग आग्रह गरेका छन् ।

पूर्वराजदूतहरू राजेश्वर आचार्य, महेन्द्र पाण्डे, टङ्क कार्की, महेश मास्के, लीलामणि पौडेल, विष्णुपुकार श्रेष्ठ र कृष्णप्रसाद ओलीले संयुक्त वक्तव्य जारी गर्दै लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको अभिन्न भूभाग भएको स्पष्ट पारेका छन् । उनीहरूले मित्र राष्ट्र चीन र भारतले नेपालको सार्वभौमिकताप्रति संवेदनशीलता देखाउने विश्वास व्यक्त गरेका छन् ।

वक्तव्यमा नेपाल सरकारले हालै सार्वजनिक गरेको धारणा स्वागतयोग्य रहेको उल्लेख गर्दै सीमा सुरक्षाका लागि कूटनीतिक पहललाई तीव्रता दिनुपर्नेमा जोड दिइएको छ ।

उनीहरूले चीनलाई विश्वको दोस्रो ठूलो आर्थिक शक्ति र नेपालको छिमेकी मित्र राष्ट्रका रूपमा उल्लेख गर्दै वर्तमान चुनौतीका बीच नेपाल–चीन सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने बताएका छन् । सामाजिक तथा आर्थिक विकासका परियोजनालाई तीव्रता दिने, सरकारी मात्र नभई जनस्तरमा समेत सम्बन्ध विस्तार गर्नुपर्नेमा उनीहरूको जोड छ ।

संयुक्त वक्तव्यमा नेपालको सार्वभौम सीमाको रक्षा गर्न अविलम्ब कूटनीतिक पहल आवश्यक रहेको निष्कर्ष निकाल्दै सरकारले प्रभावकारी कदम चाल्नुपर्नेमा ध्यानाकर्षण गराइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *