राजनीति

संवैधानिक परिषद् अध्यादेशविरुद्ध कांग्रेस संसदमा कडा धारणा राख्ने तयारीमा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशप्रति संसद् बैठकमै औपचारिक विमति जनाउने निर्णय गरेको छ। पार्टीले सरकारको पछिल्ला अध्यादेशहरूलाई लिएर संसदीय प्रतिरोधको रणनीति अघि बढाउने संकेत दिएको छ।

सिंहदरबारमा बुधबार बसेको कांग्रेस संसदीय दलको बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशप्रति असहमति जनाउँदै संसद्मा स्पष्ट रूपमा विरोध राख्ने निर्णय गरेको हो। बैठकपछि प्रमुख सचेतक वासना थापाले पार्टीको धारणा संसद् मार्फत प्रष्ट रूपमा प्रस्तुत गरिने जानकारी दिइन्।

उनका अनुसार कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश मात्र होइन, सरकारले ल्याएका सार्वजनिक खरिद तथा सार्वजनिक पदाधिकारी पदमुक्तिसम्बन्धी अध्यादेशहरूबारे पनि गम्भीर छलफल गरेको छ।“संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा हाम्रो विमति रहन्छ र त्यो संसद्मा स्पष्ट रूपमा राख्छौँ,” थापाले भनिन्।

कांग्रेसले संसद्मा आफ्नो धारणा राखेपछि सरकारको प्रतिक्रिया कस्तो आउँछ भन्ने आधारमा आगामी राजनीतिक रणनीति तय गरिने जनाएको छ। पार्टीभित्र भने सरकारको अध्यादेशमार्फत शासन शैलीप्रति असन्तुष्टि बढ्दै गएको देखिन्छ। कांग्रेसले अन्य विवादित अध्यादेशबारे पनि संसद्मा आफ्नो असहमति दर्ज गर्ने तयारी गरेको छ। यससँगै संसद्भित्र सरकार–प्रतिपक्षबीच अध्यादेशलाई लिएर बहस थप चर्किने संकेत देखिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *