काठमाडौं । गगन थापा ले सत्य समाचार सम्प्रेषण गर्ने पत्रकारलाई डरमुक्त वातावरण उपलब्ध गराउनु सबै पक्षको साझा जिम्मेवारी भएको बताएका छन्। विश्व प्रेस स्वतन्त्रता दिवस का अवसरमा आइतबार बिहान सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै उनले स्वतन्त्र र निर्भय प्रेसलाई लोकतन्त्रको आधारस्तम्भका रूपमा व्याख्या गरेका छन्।
उनका अनुसार बदलिँदो समयसँगै सूचना संकलन र सत्यको खोजी गर्ने कार्य अझ जटिल बन्दै गएको छ। विभिन्न दबाब र असुरक्षाका अवस्थाबीच पनि सत्यको पक्षमा अडिग रहने सञ्चारकर्मीप्रति उनले सम्मान व्यक्त गरेका छन्।
थापाले प्रेस स्वतन्त्रतालाई कुनै व्यक्ति वा संस्थाविरुद्धको गतिविधि नभई नागरिकको सुसूचित हुने अधिकारसँग जोडेर बुझ्नुपर्ने धारणा राखेका छन्।
सन्देशको अन्त्यमा उनले सम्पूर्ण सञ्चारकर्मीलाई प्रेस स्वतन्त्रता दिवसको शुभकामना दिएका छन्।




