काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीश पदका लागि सिफारिस भएका छन्। बिहीबार बसेको न्यायपरिषद्को बैठकले उनलाई प्रस्तावित प्रधानन्यायाधीशका रूपमा अघि सारेको हो।
नेपालको न्यायिक इतिहासमा वरिष्ठतम् न्यायाधीशलाई छाडेर वरियताको चौथो क्रममा रहेका न्यायाधीश प्रधानन्यायाधीशमा सिफारिस भएको यो पहिलो घटना बनेको छ। कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीश कुमार रेग्मी र हरि फुयालभन्दा पछाडि रहेका शर्माको नाम अगाडि आएपछि न्यायिक वृत्तमा यसलाई चासोका साथ हेरिएको छ।
संसदीय सुनुवाइ समितिबाट अनुमोदन भए शर्मा नेपालको ३३ औं प्रधानन्यायाधीश बन्नेछन्। २०७६ वैशाख ६ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका शर्मा अनुमोदित भए पूर्ण ६ वर्षे कार्यकाल पूरा गर्ने सम्भावना रहेको बताइएको छ।२०२७ साल असार ४ गते पर्सामा जन्मिएका शर्मा २०९२ साल असार ३ गते ६५ वर्ष पुग्नेछन्। त्यसअनुसार उनी २०८९ वैशाखसम्म प्रधानन्यायाधीश पदमा रहने अनुमान छ।
कानुन विषयमा नेपाल ल क्याम्पसबाट स्नातक तथा भारतको पुणे विश्वविद्यालयबाट स्नातकोत्तर गरेका शर्माले श्रम कानुनमा विद्यावारिधि गरेका छन्। उनी यसअघि पुनरावेदन अदालतमा अतिरिक्त न्यायाधीशका रूपमा कार्यरत थिए। पछि चोलेन्द्रशमशेर जबरा प्रधानन्यायाधीश रहेका बेला सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भई संसदीय सुनुवाइबाट अनुमोदित भएका थिए।




