देश

नुवाकोटका दुई दाजुभाइ मृत फेला : अनुसन्धानका लागि ६ जना नियन्त्रणमा

काठमाडौं । नुवाकोटमा दुई दाजुभाइको हत्या भएको घटनामा प्रहरीले ६ जनालाई पक्राउ गरी विस्तृत अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख एसपी विपिन रेग्मीका अनुसार घटनामा संलग्नता र हत्याको कारणबारे अनुसन्धान जारी रहेको छ ।

म्यागङ गाउँपालिका–४ किम्ताङका ४३ वर्षीय सोमनाथ तामाङ र उनका ३६ वर्षीय भाइ सूर्यमान तामाङ मृत अवस्थामा फेला परेका थिए । प्रहरीका अनुसार दुवैको शव किम्ताङ खोलानजिक जंगल क्षेत्रमा ढुंगाले थिचेर लुकाइएको अवस्थामा भेटिएको हो ।

बुधबार बिहान घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी टोली खोजतलासमा खटिएको थियो । घटनास्थल नुवाकोट र धादिङ जिल्लाको सीमा क्षेत्रमा पर्ने तथा सडकबाट करिब पाँच घण्टा पैदल हिँड्नुपर्ने दुर्गम स्थानमा रहेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक सूचनामा गोली प्रहारबाट हत्या भएको भनिए पनि प्रहरीले त्यसबारे पुष्टि गरेको छैन । घटनास्थलबाट खुकुरी बरामद भएकाले धारिलो हतियार प्रयोग गरिएको हुनसक्ने आशंका गरिएको छ । प्रहरीले पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै मृत्युको वास्तविक कारण खुल्ने जनाएको छ ।

एसपी रेग्मीका अनुसार आर्थिक लेनदेन वा अन्य व्यक्तिगत विवादका कारण घटना भएको हुनसक्ने अनुमान गरिए पनि अहिले नै निश्चित निष्कर्षमा पुग्न नसकिने अवस्था छ ।

परिवारका सदस्यका अनुसार दुवै दाजुभाइ मंगलबार बिहान कुलो निर्माणको काममा जाने भन्दै घरबाट निस्किएका थिए । त्यसपछि उनीहरू सम्पर्कविहीन बनेका थिए । प्रहरीले घटनाका सबै पक्षलाई आधार बनाएर अनुसन्धान अघि बढाएको जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *