नुवाकोट । नुवाकोटमा दुई दाजुभाइको शव हत्या गरिएको अवस्थामा फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक (डीएसपी) विक्रम लामाका अनुसार बुधबार दिउँसो खोलाको छाँगोभित्र दुई जनाको शव फेला परेको हो ।
मृतकहरू म्यागङ गाउँपालिका–४ किम्ताङ गाउँका ४१ वर्षीय सोमराज तामाङ र उनका भाइ ३६ वर्षीय सूर्यमान तामाङ रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनाको प्रकृति हेर्दा पुरानो रिसिइबीका कारण हत्या गरिएको आशंका गरिएको छ । प्रारम्भिक अनुसन्धानमा गोली प्रहार भएको जस्तो देखिए पनि त्यसबारे यकिन हुन बाँकी रहेको डीएसपी लामाले बताए ।
बुधबार बिहान दाजुभाइ बेपत्ता भएको सूचना पाएपछि प्रहरी टोली खोजीमा खटिएको थियो । खोजतलासका क्रममा दिउँसो ४ बजेतिर खोलाको छाँगोभित्र शव फेला परेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको तथा संलग्न व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।




