काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाहको अनुपस्थितिलाई लिएर विपक्षी दलहरूले तीव्र विरोध जनाएका छन् । सरकारको नीति तथा कार्यक्रममाथिको छलफल चलिरहेका बेला प्रधानमन्त्री स्वयं संसद्मा उपस्थित नभएको भन्दै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीको राजीनामा माग गरेका हुन् । सांसद राईले मात्र होइन्, विपक्षी सांसदहरूले समेत प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका हुन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । सभामुख डीपी अर्यालले अर्थमन्त्रीलाई प्रस्ताव पेस गर्न अनुमति दिएलगत्तै विपक्षी सांसदहरूले आपत्ति जनाउँदै विरोध सुरु गरेका थिए ।
विपक्षी दलहरूको भनाइमा नीति तथा कार्यक्रम सरकारको मुख्य दस्तावेज भएकाले त्यसबारे उठ्ने प्रश्नको जवाफ प्रधानमन्त्री स्वयंले दिनुपर्छ । तर प्रधानमन्त्री शाह लगातार संसद्बाट टाढा रहँदै आएको आरोप विपक्षीको छ ।
यसक्रममा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्प्रति गैरजिम्मेवार व्यवहार देखाउने प्रधानमन्त्री पदमा बसिरहन उपयुक्त नभएको टिप्पणी गरे । उनले संसद्को सामना गर्न नसक्ने नेतृत्वले नैतिक आधार गुमाइसकेको भन्दै तत्काल राजीनामा दिनुपर्ने धारणा राखेका हुन् ।
प्रधानमन्त्री अनुपस्थित रहेको विषयलाई लिएर प्रतिनिधिसभामा केही समय तनावपूर्ण अवस्था समेत सिर्जना भएको थियो । विपक्षी सांसदहरूले प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन माग गर्दै नाराबाजी गरेका थिए ।
संसद्मा प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर पछिल्ला दिनमा सत्ता पक्षभित्रै पनि असन्तुष्टि बढ्न थालेको देखिएको छ । नीति तथा कार्यक्रममाथिको छलफलजस्तो महत्वपूर्ण प्रक्रियामा प्रधानमन्त्री सहभागी नहुनुले संसद्को गरिमा कमजोर भएको टिप्पणी राजनीतिक वृत्तमा भइरहेको छ ।




