राजनीति

देशमा परिवर्तन भइरहेको छ : उपनेता गणेश पराजुली

काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले देशमा सकारात्मक परिवर्तन हुँदै गएको दाबी गरेका छन्।

मंगलबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले थोरै प्रयास र सही व्यवस्थापनले पनि परिवर्तन सम्भव हुने अनुभव आफूहरूले देख्न थालेको बताए।

पराजुलीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा एक महिनामै प्रकाशित गर्न सकिएको उदाहरण प्रस्तुत गर्दै राज्य संयन्त्रमा सुधार हुँदै गएको संकेत दिएको उल्लेख गरे।

उनले परीक्षामा सफल भएका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना दिँदै असफल भएकाहरूलाई निराश नहुन आग्रह गरे। “असफलता अन्त्य होइन, यो सिकाइको प्रक्रिया हो,” उनले भने।

उपनेता पराजुलीले सार्वजनिक सेवा प्रवाहमा देखिएका सुधारका संकेतलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै अझ प्रभावकारी नतिजा ल्याउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा राखे।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *