देश

सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि

काठमाडौँ। संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । अधिवेशनको पहिलो दिन नै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।

संविधानको धारा ९५ अनुसार राष्ट्रपतिले अपराह्न ४ बजे संयुक्त सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

राष्ट्रपति पौडेलबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा दिउँसो ३ ः४५ बजे अगावै उपस्थित हुन प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सदस्यलाई संसद् सचिवालयले सूचित गरेको छ ।

यसअघि दिउँसो २ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक छुट्टाछुट्टै सुरु हुनेछन् ।

संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्रबारे जानकारी दिने, मन्त्रिपरिषद्को हेरफेर सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त सूचनाबारे सदनलाई अवगत गराउने सम्भावित कार्यसूची छ ।

त्यसैगरी, सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन, प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २६० बमोजिम जारी भएको बाधा अड्काउ फुकाउ अनुमोदनका लागि पेस हुनेछ ।

यस्तै, सरकारबाट जारी भएका विभिन्न ८ वटा अध्यादेश पनि पेश गर्ने सूची रहेको संसद सचिवालयले जनाएको छ ।

राष्ट्रियसभाको बैठकमा पनि ती अध्यादेशहरू पेस हुने सचिवालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *