देश

सांसद हर्क साम्पाङको बालेन सरकारलाई सुझाव : तीन कुरालाई पहिलो प्राथमिकतामा राख्नुहोस्

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले वर्तमान सरकारको कार्यप्रणालीप्रति असन्तुष्टि जनाउँदै कडा शब्दमा खुला पत्र सार्वजनिक गरेका छन्। उनले सरकारलाई प्रत्यक्ष सम्बोधन गर्दै मुख्य तीन विषयलाई पहिलो प्राथमिकतामा राख्न सुझाव  दिएका छन् । सीमाको सुरक्षा, सुकुमबासी व्यवस्थापन र अर्थतन्त्र जस्ता संवेदनशील विषयमा गम्भीर ध्यान दिन आग्रह गरेका हुन् ।

साम्पाङले नेपालको लिपुलेक क्षेत्र हुँदै भारतले कैलाश–मानसरोवर जाने सडक निर्माण गरिरहँदा सरकार मौन बसेको भन्दै आपत्ति जनाएका छन्। केवल कूटनीतिक नोट पठाएर दायित्व पूरा भएको ठान्न नहुने उनको भनाइ छ। उनले नेपाल, भारत, चीन र संयुक्त राष्ट्रसंघबीच चतुर्पक्षीय वार्ता गरी सीमाको संरक्षण सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

उनले नेपाली सेनाको भूमिकामाथि पनि प्रश्न उठाएका छन्। मन्त्रीहरूको व्यक्तिगत सुरक्षामा मात्र सीमित गरिएको आरोप लगाउँदै उनले सीमामा पर्याप्त उपस्थिति नहुँदा अतिक्रमण भएको दाबी गरे। सीमाको रक्षा गर्न सेनालाई सक्रिय रूपमा सीमाक्षेत्रमै परिचालन गर्नुपर्ने उनको धारणा छ। सुकुमबासी बस्ती हटाउन प्रयोग भइरहेका डोजरप्रति पनि उनले असन्तुष्टि व्यक्त गरेका छन्। ती उपकरणहरू बाढीपहिरोबाट क्षतिग्रस्त संरचना पुनर्निर्माण र विपद् व्यवस्थापनमा प्रयोग गर्नुपर्ने सुझाव उनले दिएका छन्।

अर्थतन्त्रका सन्दर्भमा साम्पाङले विदेशी ऋणको अत्यधिक निर्भरता रोक्न सरकारलाई चेतावनी दिएका छन्। राज्य सञ्चालनमा सन्तुलन कायम गर्न नसक्ने हो भने पदबाट हटेर मार्ग प्रशस्त गर्नुपर्ने उनको स्पष्ट सन्देश छ। साथै, उनले आगामी बजेट निर्माणमा सबै वर्ग र क्षेत्रका जनताको समस्या समेट्नुपर्ने र सरकारका गतिविधिबारे नियमित रूपमा पत्रकार सम्मेलनमार्फत जानकारी गराउनुपर्ने माग गरेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *