काठमाडौं । रुपन्देहीको बुटवलमा भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले सरकारविरुद्ध विरोध प्रदर्शन गरेका छन्। उनीहरूले जबर्जस्ती बस्ती हटाउने अभियानको विरोध गर्दै वैकल्पिक व्यवस्थाको माग अघि सारेका छन्। यस्तै दाङ,सुनसरी लगायतका थुप्रै जिल्लाहरुमा सरकारको विरोधमा सुकुम्वासीहरुले नारा लगाउन थालेका छन् । राजधानी (काठमडाौंँ)मा समेत सुकुम्वासीको अधिकार र सुरक्षाप्रति सरकार जिम्मेवार हुनुपर्ने भन्दै प्रदर्शनकारीहरुले सडकमा नारा लगाउन थालेका छन् ।
आइतबार दिउँसो आयोजित प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्री बालेन शाह को राजीनामा माग गर्दै विभिन्न नारासहित प्लेकार्ड प्रदर्शन गरेका थिए। “गरिबलाई बाँच्न दे”, “डोजर होइन समाधान दे” र “सुकुम्बासी हुनु बाध्यता हो” जस्ता नाराले प्रदर्शनस्थल गुञ्जिएको थियो। प्रदर्शनकारीहरूले बस्ती हटाउने क्रममा अपनाइएको शैलीप्रति असन्तुष्टि जनाउँदै राज्यले पुनःस्थापना र व्यवस्थापनको स्पष्ट योजना ल्याउनुपर्ने माग गरेका छन्। उनीहरूको भनाइमा बिनाविकल्प बस्ती हटाउँदा हजारौँ परिवार प्रत्यक्ष प्रभावित भएका छन्।
प्रदर्शनपछि आयोजकहरूले पत्रकार सम्मेलनमार्फत आफ्ना मागहरू औपचारिक रूपमा सार्वजनिक गर्ने जनाएका छन्। भूमि समस्या समाधान आयोग रुपन्देहीका अनुसार जिल्लामा करिब ८० हजार परिवार भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको रूपमा रहेका छन्। ती परिवारहरूको दीर्घकालीन व्यवस्थापन अझै चुनौतीपूर्ण बनेको छ। स्थानीयस्तरमा बढ्दो असन्तुष्टिसँगै भूमिहीनको समस्या समाधानमा सरकारको रणनीतिमाथि थप बहस सुरु भएको देखिन्छ।




