काठमाडौँ । नेपाली कांग्रेस ले आफ्नो १५औँ महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील सदस्यता अद्यावधिक कार्यलाई प्रविधिमैत्री र प्रभावकारी बनाउन अभियान सुरु गरेको छ ।
देशभरका ६ हजार ७ सय ४३ वटै वडामा उत्साहपूर्वक सञ्चालन भइरहेको सदस्यता अद्यावधिक कार्यलाई थप व्यवस्थित बनाउन पार्टीले आफ्ना क्रियाशील सदस्यहरूलाई आधिकारिक मोबाइल नम्बर सूचीकृत गराउन आग्रह गरेको हो ।
पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलाल ले वैशाख २६ गते जारी गरेको प्रेस विज्ञप्तिमार्फत सबै सदस्यलाई डिजिटल प्रणालीमा आबद्ध हुन अनुरोध गरेका छन् ।
१५औँ महाधिवेशनका लागि सदस्यता अद्यावधिक गराइरहेका सम्पूर्ण सदस्यहरूले आफ्नो आधिकारिक मोबाइल नम्बरबाट पार्टी केन्द्रीय कार्यालयको मोबाइल नम्बर ९७०१२५५५५५ मा सम्पर्क गरी विवरण सूचीकृत गराउनुपर्ने जनाइएको छ ।
पार्टीका अनुसार एकपटक सम्पर्क गरेपछि सदस्यहरूको मोबाइल नम्बर प्रणालीमा दर्ता हुनेछ, जसले आगामी प्रक्रियाहरूलाई थप सहज बनाउनेछ । डिजिटल माध्यमबाट सदस्यता अद्यावधिक गर्ने यस प्रक्रियाले वडा सभापतिहरूलाई आफ्ना क्षेत्रका सदस्यहरूको विवरण व्यवस्थापन तथा फाराम भर्न छिटो र प्रभावकारी रूपमा सहयोग पुग्ने विश्वास गरिएको छ ।





