काठमाडौं । नेपाली कांग्रेसले नेपाल महिला संघको नेतृत्वमा मीनाकुमारी खरेललाई नियुक्त गरेको छ । पार्टी सभापति गगनकुमार थापाले विधानअनुसार स्वतः विघटन भएको महिला संघको अध्यक्ष पदमा खरेललाई नियुक्त गर्दै संगठन पुनर्गठन र महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारी दिएका हुन् ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको वैशाख २१ गतेको निर्णयअनुसार गरिएको नियुक्तिसँगै खरेललाई १७ बुँदे कार्यदिशा समेत प्रदान गरिएको छ । पार्टीले तोकिएको समयभित्र महिला संघको महाधिवेशन सम्पन्न गर्न, संगठनलाई पूर्णता दिन र महिला सहभागिता विस्तार गर्न निर्देशन दिएको छ ।
निर्देशनअनुसार आगामी जेठ १५ भित्र समावेशी ढंगले केन्द्रीय कार्यसमिति गठन गर्नुपर्नेछ भने श्रावणभित्र तल्लो तहका संरचना पुनर्गठन गरी अधिवेशन आयोजक समिति बनाइनेछ । त्यस्तै, फागुन १५ भित्र महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका तयार गर्न भनिएको छ । कांग्रेसले महिला संघलाई संगठनात्मक रूपमा थप सक्रिय बनाउने, डिजिटल अभिलेख तयार गर्ने तथा समाजका विभिन्न क्षेत्रमा सक्रिय महिलालाई संगठनमा जोड्ने अभियान सञ्चालन गर्ने योजना अघि सारेको छ ।
यस्तै, महिलामाथि हुने हिंसा, साइबर बुलिङ, दाइजो, छाउपडी र बोक्सी प्रथाविरुद्ध अभियान सञ्चालन गर्ने, महिला अधिकारका सवालमा पार्टीलाई नीति सुझाव दिने तथा वैदेशिक रोजगारीमा गएका महिलाको सुरक्षा र पुनःस्थापनामा काम गर्ने जिम्मेवारी समेत महिला संघलाई दिइएको छ । पार्टीले महिला संघलाई लोकतान्त्रिक राजनीतिक संस्कृतिअनुसार अनुशासित, पारदर्शी र उत्तरदायी संगठनका रूपमा विकास गर्नुपर्नेमा पनि जोड दिएको छ ।






