काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले संसदमा प्रतिनिधित्व गर्ने प्रमुख सचेतक तथा सचेतकहरूसँग छलफल गरेका छन् ।
आउँदो अधिवेशनलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा केन्द्रित छलफलमा संसदमा रहेका सबै दलका प्रमुख सचेतक तथा सचेतकहरू सहभागी भएका थिए ।
छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले संसदीय कार्यप्रणालीलाई प्रभावकारी बनाउने विषयमा सामान्य छलफल भएको बताइन् । उनले प्रमुख सचेतक तथा सचेतकको रूपमा नयाँ जिम्मेवारी पाएपछि सभामुखसँग पहिलो औपचारिक भेट भएको पनि उल्लेख गरिन् ।
उनका अनुसार छलफलमा सत्तारूढ तथा प्रतिपक्षी दलका प्रतिनिधिहरूले संसद सञ्चालनसँग सम्बन्धित जिज्ञासा र सुझाव राखेका थिए ।
रास्वपाकै अर्का सचेतक प्रकाशचन्द्र परियारले ६ वटै दलका प्रतिनिधिसँग सभामुखले संसद सञ्चालनका समस्या र समाधानबारे छलफल गरेको बताए । उनले संसदलाई प्रभावकारी बनाउन दलहरूबीच समन्वय र सहकार्य आवश्यक रहेको विषयमा जोड दिइएको जानकारी दिए ।
यस्तै, नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले संसद छिटो सञ्चालन गर्न पहल गर्न आफूहरूले सभामुखसँग आग्रह गरेको बताइन् । उनले छलफलमा कुनै ठोस एजेन्डा नभए पनि संसदको कार्यप्रणाली सुधार र कार्यालय सञ्चालनका विषयमा सामान्य छलफल भएको उल्लेख गरिन् ।
सभामुख अर्यालले संसदलाई प्रभावकारी बनाउन सबै दलसँग समन्वय गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको सहभागीहरूले बताएका छन् । बर्खे अधिवेशन छिट्टै आह्वान हुने विश्वास पनि सभामुखले व्यक्त गरेको उनीहरूको भनाइ छ ।




