भोजपुर । दुर्गम क्षेत्रका नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले यहाँको खोक्सिकमा पक्की आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएको छ । यसअघि भवन अभावका कारण सहकारीको घरबाट सेवा प्रवाह हुँदै आएकोमा अब चार कोठे पक्की भवन निर्माण भएसँगै सेवा नयाँ भवनबाट सञ्चालन गरिएको हो ।
वडाको पहलमा प्रदेश सरकारबाट प्राप्त रु २५ लाख बजेटमा पक्की भवन निर्माण गरिएको वडाध्यक्ष बाचकुमार राईले जानकारी दिए । उनका अनुसार विगतमा स्वास्थ्य चौकी नै नहुँदा स्थानीयले आधारभूत स्वास्थ्य सेवा लिनसमेत सास्ती भोग्नुपरेको थियो ।
“भौगोलिक विकटताका कारण हाम्रो क्षेत्रमा स्वास्थ्य सेवा लिन निकै कठिन थियो,” वडाध्यक्ष राईले भने, “सङ्घीयता कार्यान्वयनसँगै स्वास्थ्य चौकी स्थापना गर्यौँ । भवन नहुँदा सेवा प्रवाहमा समस्या थियो, तर अहिले पक्की भवन निर्माण गरेर सेवा थालेका छौँ ।”
नवनिर्मित भवनको कोशी प्रदेश सांसद सिर्जना राईले एक औपचारिक कार्यक्रमबिच उद्घाटन गरिन् । उनले नयाँ भवन पक्की निर्माणसँगै सेवा प्रवाह प्रभावकारी र व्यवस्थित हुने विश्वास व्यक्त गर्नुभयो ग्रामीण तथा दुर्गम क्षेत्रसम्म स्वास्थ्य सेवा विस्तार गर्नु सरकारको प्राथमिकता रहेको बताइन् ।
स्थानीयवासी सूर्य राईले आफ्नै गाउँमा स्वास्थ्य चौकीको पक्की भवन निर्माण भएपछि उत्साह बढेको बताए । उनका अनुसार विगतमा सामान्य उपचारका लागि दुई देखि तीन घण्टा हिँडेर अन्य ठाउँ जानुपर्ने बाध्यता थियो ।
“हाम्रो ठाउँमा पहिले स्वास्थ्य चौकी नै थिएन,” उहाँले भने, “स्थानीय तह आएपछि स्थापना भयो तर भवन अभावले समस्या थियो । अहिले पक्की भवन बनेपछि सेवा लिन निकै सहज भएको छ ।”
दक्षिणी क्षेत्रमा पर्ने खोक्सिक जिल्ला सदरमुकामबाट करिब ५० किलोमिटर टाढा पर्छ । कच्ची सडकका कारण यहाँका नागरिकलाई सदरमुकामसम्म पुगेर स्वास्थ्य सेवा लिन अझै पनि कठिनाइ हुने गरेको छ ।




