देश

सिर्सिया नदीको दुर्दशा रोक्न प्रधानमन्त्रीसमक्ष वीरगञ्जबासीको अपिल

काठमाडौं । वीरगञ्जका नागरिकहरूले सिर्सिया नदीमा बढ्दो प्रदूषण र अतिक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री बालेन शाहलाई खुला अपिल गरेका छन्। नदीको वर्तमान अवस्था सुधार गर्न तत्काल प्रभावकारी कदम चाल्न उनीहरूले सरकारसँग माग गरेका हुन्।

वीरगञ्ज महानगर र आसपासका बासिन्दाको दैनिकीसँग प्रत्यक्ष सम्बन्ध राख्ने सिर्सिया नदी पछिल्लो समय अत्यन्तै प्रदूषित बन्दै गएको नागरिकहरूको भनाइ छ। एक समय स्वच्छ र उपयोगी मानिएको यो नदी अहिले औद्योगिक फोहोर, रासायनिक ढल तथा अव्यवस्थित फोहोर व्यवस्थापनका कारण संकटग्रस्त बनेको उल्लेख गरिएको छ। साथै, नदी किनार अतिक्रमणका कारण यसको चौडाइ घट्दै गएको र कतिपय स्थानमा नालीजस्तै अवस्थामा पुगेको पनि जनाइएको छ।

नागरिकहरूका अनुसार, सिर्सिया नदीको प्रदूषण सीमापार भारतको रक्सौलसम्म फैलिएको छ, जसले अन्तर्राष्ट्रिय स्तरमै असर पुर्‍याएको दाबी गरिएको छ। नदी आसपासका बासिन्दा दुर्गन्ध, स्वास्थ्य समस्या, कृषि उत्पादनमा गिरावट र जल प्रदूषणजस्ता समस्याबाट प्रताडित भएको बताइएको छ।
एक दशकभन्दा बढी समयदेखि आन्दोलन, सचेतना कार्यक्रम र विभिन्न प्रयासहरू गरिए पनि सम्बन्धित निकायबाट ठोस पहल नभएको गुनासो नागरिकहरूको छ। समस्या समाधानका लागि सरकारी तहबीच समन्वयको अभाव रहेको पनि औंल्याइएको छ।

खुला अपिलमार्फत नागरिकहरूले विभिन्न मागहरू अघि सारेका छन्। जसमा उद्योगबाट निस्कने ढल र रासायनिक फोहोरको कडा निगरानी, नदी सफाइ अभियान सञ्चालन, आधुनिक फोहोर तथा ढल प्रशोधन केन्द्र स्थापना, प्रदूषण गर्ने उद्योगमाथि कारबाही, तीनै तहका सरकारबीच समन्वय, नदी किनारको अतिक्रमण हटाउने तथा नदीलाई पर्यटकीय सम्भावनासहित विकास गर्ने विषय समावेश छन्।

नागरिकहरूले सिर्सिया नदीको संरक्षणलाई केवल स्थानीय मुद्दा नभई राष्ट्रिय वातावरण र जनस्वास्थ्यसँग जोडिएको गम्भीर विषयका रूपमा लिँदै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्। समस्या समाधानमा ढिलाइ भए नागरिकस्तरको आन्दोलनलाई अझ सशक्त बनाइने चेतावनीसमेत दिइएको छ।

 

नेपाल सरकारका सम्मानीय प्रधानमन्त्री  बालेनल शाहज्यूलाई खुला पत्र
विषय: वीरगञ्जको लाइफलाइन सिर्सिया नदी प्रदूषणमुक्त र अतिक्रममुक्त  बनाउन तत्काल पहल गरियोस्।
सम्मानीय प्रधानमन्त्रीज्यू,
सादर नमस्कार।
वीरगञ्ज महानगर तथा आसपासका हजारौं नागरिकहरूको जीवनसँग प्रत्यक्ष जोडिएको सिर्सिया नदी आज अत्यन्तै प्रदूषित अवस्थामा पुगेको छ। यहाँ सम्मकि  यो नदीको पदूषण  भारतको रक्सौल हुँदै अगाडि सम्म बगेको र यो नदिमा हुने प्रदुषणले भारतमा पनि प्रदुषण फैलाउने हुँदा यो अन्तर्राष्ट्रिय कानुन बिपरितको कार्य पनि हो। यसले अन्तर्राष्ट्रिय र सिमान्चलको  सम्बन्धमा पनि नकारात्मक असर पारेको  छ।  भारतको सदन तथा सरकारमा पनि बेलाबखत यो मुद्दाको उठान भएको छ।  एक समयमा यो नदीको पानीले रक्सौलमा कुष्ट रोगको उपचार हुने पबित्र पावन अमृत जल अहिले जहरमा परिणत भएको छ। अतिक्रमले नदीबाट नालामा परिणत भएको छ।कहिलेकाहीँ जीवनदायिनी बनेको यो नदी अहिले फोहोर, औद्योगिक ढल, रासायनिक पदार्थ तथा अव्यवस्थित फोहोर व्यवस्थापनका कारण संकटमा परेको छ। सिर्सिया नदी वीरगञ्जको लाइफलाइन हो, तर यसको वर्तमान अवस्था निकै दुःखद र चिन्ताजनक छ।

नदीको दूषित पानीका कारण स्थानीय बासिन्दाले दुर्गन्ध, विभिन्न स्वास्थ्य समस्या, कृषि क्षेत्रमा असर, भूजल प्रदूषण तथा वातावरणीय संकट भोगिरहेका छन्। नदी किनारका समुदायहरू सबैभन्दा बढी प्रभावित भएका छन्। यदि समयमै प्रभावकारी कदम चालिएन भने यो समस्या अझ गम्भीर बन्दै जाने निश्चित छ। यो नदीलाई पदूषणमुक्त र अतिक्रममुक्त बनाउन हामी एक दशक भन्दा बढी समय देखि नागरिक स्तरबाट आन्दोलन ,संघर्स,सत्या ग्रह गर्यौ तर यसको दिगो समाधान भएन ,सरोकारवालाले माफिया विरुद्धको हाम्रो लडाइलाई सम्बोधन गरेन। यति  मात्रै नभैइ हामी कानुनी लडाइँ लडदा पनि नेपालको कानुन र प्रशासनको बारेमा सम्मानिय ज्युलाई  अवगत नै छ। हाम्रो सुनवाइ भएन।
यसर्थ, सम्मानिय  प्रधानमन्त्रीज्यू समक्ष हाम्रो विनम्र अनुरोध छ कि सिर्सिया नदीलाई प्रदूषणमुक्त र अतिक्रममुक्त बनाउन निम्न कदमहरू तत्काल चालियोस्:
(१)उद्योगहरूबाट नदीमा मिसाइने ढल तथा रासायनिक फोहोरमा कडा निगरानी गरियोस्।
(२)नदी सफाइ तथा संरक्षणका लागि विशेष राष्ट्रिय अभियान सञ्चालन गरियोस्।
(३)आधुनिक फोहोर प्रशोधन केन्द्र तथा ढल व्यवस्थापन प्रणाली निर्माण गरियोस्।

(४)प्रदूषण गर्ने उद्योग तथा निकायमाथि कानुनी कारबाही गरियोस्।

(५)स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारबीच समन्वय गरी दीर्घकालीन योजना बनाइयोस्।

(६)नदी किनार अतिक्रमण हटाई हरियाली तथा संरक्षण कार्यक्रम अघि बढाइयोस।
(७)यो नदीलाई पर्यटकिय पुर्वाधारको रुपमा बिकास गर्न बिशेष प्याकेजको ब्यवस्था गरियोस्।

       सम्माननिय ज्यु, सिर्सिया नदीको संरक्षण केवल वीरगञ्जको मात्र मुद्दा होइन, यो राष्ट्रको वातावरण, जनस्वास्थ्य र भावी पुस्ताको भविष्यसँग जोडिएको विषय हो। यस्तै पत्र रास्वपाका सभापति रबि लामिछाने गृहमन्त्री हुँदा  लेखेको थिए तर सुनवाइ भएन तर हजुरको अतिक्रम विरुद्धको अभियानबाट हौसला पाएर  तपाईंको नेतृत्वमा यो अभियान सफल हुने जनविश्वास हामीमा छ।

अन्त्यमा, सिर्सिया नदीलाई पुनः स्वच्छ, सुन्दर र जीवनदायिनी बनाउन तत्काल ठोस कदम चालिनेछ भन्ने आशा व्यक्त गर्दछौं। हाम्रो यो सरोकार  सम्बोधन भएन भने हाम्रो नागरिक स्तरको लडाइँ निरन्तर जारी रहनै नै छ।
धन्यवाद।
भवदीय,
ओमप्रकाश सरार्फ,
अभियन्ता, सिर्सिया नदी प्रदुषण/अतिक्रम मुक्त अभियान(वीरगन्ज बासी)

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *