देश

काठमाडौँका नदी किनाराका अतिक्रमित बस्ती खाली गर्ने अभियान पुनः सुरु हुँदै, सर्वसाधारणले सामान सार्दै

काठमाडौँ । सरकारले भोलिदेखि काठमाडौंका नदी किनारामा रहेका अतिक्रमित सरकारी जग्गा खाली गर्ने अभियान पुनः सुरु गर्ने सूचना जारी गरेसँगै विभिन्न सुकुम्बासी बस्तीमा बसोबास गर्ने सर्वसाधारणले आफ्ना सामान सार्न थालेका छन् ।

गत शनिबारदेखि अतिक्रमित सरकारी जग्गा खाली गर्ने अभियान थालेको सरकारले भोलिदेखि पुनः नदी किनाराका क्षेत्रहरूमा डोजर चलाउने तयारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले यसअघि नै सूचना जारी गर्दै नदी किनारामा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन र आफ्ना सामान सुरक्षित स्थानमा सार्न आग्रह गरेको थियो ।

सोही सूचनाअनुसार आज बिहानदेखि टेकुको बंशीघाट, शंखमूल, बुद्धनगर, बल्खु, कुलेश्वर, कपन, बसुन्धारा, गोंगबु, बालाजु र माछापोखरी लगायतका क्षेत्रमा बसोबास गर्ने सुकुम्बासीहरूले आफ्ना सामान सार्न थालेका छन् । ती स्थानमा काठमाडौं महानगर प्रहरीद्वारा माइकिङमार्फत सूचित पनि गरिएको छ ।

यसअघि सरकारले थापाथली, गैरीगाउँ र मनोहरा क्षेत्रमा रहेका सुकुम्बासी बस्तीहरू खाली गराइसकेको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौँका अनुसार भोलिदेखि सोही अभियानलाई थप तीव्र पारिनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *