काठमाडौं । नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरूले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिलाई सम्बोधन गर्न राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गरेका छन् ।
बिहीबार बसेको विपक्षी दलहरूको बैठकले उपभोक्तालाई राहत दिन अविलम्ब प्याकेज ल्याउन आग्रह गरेको हो । दैनिक उपभोग्य वस्तु—दाल, चामल, तरकारी र तेल—को मूल्यवृद्धिले जनताको भान्सा महँगो भएको भन्दै तत्काल महँगी नियन्त्रण गर्न र सुपथ मूल्यका पसल सञ्चालन गर्न माग गरिएको छ ।
अन्तर्राष्ट्रिय द्वन्द्वका कारण रासायनिक मल अभाव हुन सक्ने भन्दै बर्खे सिजनअघि नै मलको व्यवस्था गर्न सरकारलाई आग्रह गरिएको छ । साथै झापा, मोरङ, सुनसरी, चितवन र काठमाडौंमा फैलिएको बर्डफ्लुबाट प्रभावित किसानलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन माग गरिएको छ ।
आगामी बजेट तयारीमा प्रतिपक्षलाई बेवास्ता गरिएको भन्दै पारदर्शी र समावेशी प्रक्रिया अपनाउन पनि उनीहरूले सरकारलाई दबाब दिएका छन् ।






