संयुक्त राष्ट्रसङ्घका महासचिवका लागि प्रवक्ता स्टेफन डुजारिकले लेबनानमा दश लाख भन्दा बढी मानिसहरु विस्थापित रहेको जनाउनु भएको छ । एक लाख २६ हजार मानिसहरूलाई देश भरका ६०० भन्दा बढी सामूहिक आश्रयमा राखिएको उल्लेख गर्दै उहाँले अधिकांश विस्थापितहरू अझै आश्रय बाहिर नै रहेको बताउनु भएको छ ।
पत्रकारहरुसँगको दैनिक साक्षतकारको क्रममा उहाँले मार्च –२ देखि संयुक्त राष्ट्र सङ्घले ११० वटा मानवीय समुह र मिसनहरूको सेवा प्रवाहलाई सहज बनाएको जनाउनु भएको छ । यद्यपि, सहायता वितरण अपरेसनहरूले विभिन्न अवरोध, असुरक्षा, आवागमन प्रतिबन्ध, नागरिक पूर्वाधारमा क्षति लगायतका समस्याको सामना गर्न बाध्य रहेको जनाइएको छ ।
लेबनानमा संयुक्त राष्ट्रको अन्तरिम बलका शान्तिरक्षकहरूले शंकास्पद गतिविधिहरू अपरेसनहरू, लगायत यस क्षेत्र भरि इजरायली सेनाहरूद्वारा सञ्चालित सैन्य गतिविधिहरूको निगरानी जारी राखेको जनाइएको छ ।
जारी हिंसाबाट शान्तिरक्षक र संयुक्त राष्ट्रसंघीय सुरक्षा स्थलहरू प्रत्यक्ष रूपमा प्रभावित भइरहेको उहाँले चेतावनी दिनु भएको छ । इजरायली सैन्य गतिविधिको कारण शुक्रबार एल बियाडाको युनिफिल क्षेत्रका तीन वटा भवनहरूमा संरचनात्मक क्षति पुगेको तथा नजिकैका क्षेत्रहरूमा आगलागी समेत भएको जनाइएको छ ।
डुजारिकले बुधबार बेरुतको दक्षिणी उपनगरमा भएको इजरायली आक्रमणकमा बालबालिका सहित नागरिकहरूको मृत्यु भएका रिपोर्टहरू उल्लेख गर्दै गहिरो चिन्ता व्यक्त गर्नुभएको छ । अप्रिलमा घोषणा गरिएको युद्धविराम पछि पनि लेबनानको राजधानीलाई लक्षित गरी भएको यो पहिलो आक्रमण भएको उहाँले उल्लेख गर्नु भएको छ ।




