म्याग्दी।म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानस्थित पन्थोक र जुग्जामा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार योजना अलपत्र परेको छ ।
विद्युत् सुविधा विस्तारमा ढिलाइ हुँदा स्थानीयवासी रातको समयमा उज्यालो, मोबाइल चार्ज, इन्टरनेट प्रयोग, टेलिभिजन हेर्न तथा विद्यालयमा कम्प्युटर शिक्षालगायतका सेवा प्रभावित बनेका छन् । वडा कार्यालय, स्वास्थ्य संस्था र स्थानीय कुटानी–पिसानी मिल सञ्चालनमा समेत समस्या देखिएको छ ।
पन्थोकस्थित भीम माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक डम्मरबहादुर घर्तीका अनुसार दुई वर्षअघि सुरु भएको विद्युतीकरण योजनाले अझै पूर्णता पाउन सकेको छैन । एक सय ३२ घरधुरी रहेको पन्थोकमा गौडाखोला लघुजलविद्युत् परियोजनाको नहर मर्मतका लागि यही वैशाख ८ गतेदेखि विद्युत् सेवा बन्द गरिएको छ ।
“हामी अन्धकारमा बस्न बाध्य छौँ,” उहाँले भन्नुभयो, “७२ घरधुरी रहेको जुग्जामा पोल र तार बाटोमै थन्किएका छन्।”
पन्थोकमा पोल गाड्ने र मुख्य लाइन तान्ने काम सम्पन्न भए पनि वायरिङ भइसकेको छ। तर मिटरबक्स जडान र कालो तार जोड्ने काम बाँकी छ। जुग्जामा भने पोल गाड्ने, तार तान्ने र ट्रान्सफर्मर जडानलगायतका अधिकांश काम अधुरै छन्।
लघुजलविद्युत् र सौर्य ऊर्जाबाट आंशिक रूपमा सेवा चलाइए पनि कम्प्युटर, मिल, उद्योग व्यवसाय तथा सार्वजनिक सेवा प्रवाह प्रभावित भएको स्थानीयको भनाइ छ।
नेपाल विद्युत् प्राधिकरणको ‘उज्यालो म्याग्दी’ कार्यक्रमअन्तर्गत पन्थोक र जुग्जासहित जिल्लाका १४ स्थानका दुई हजार १८३ घरमा राष्ट्रिय प्रसारण लाइन विस्तार गर्ने योजना रहेको छ। यसका लागि २०८१ असोजमा बेनीस्थित न्यू ढुङ्गाना निर्माण सेवाले ठेक्का लिएको थियो।
निर्माण कम्पनीका सञ्चालक दिनेश ढुङ्गानाका अनुसार नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रबाट आवश्यक उपकरण तथा भुक्तानी नहुँदा काम प्रभावित भएको हो।
“पेस्कीबाहेक अन्य भुक्तानी प्राप्त भएको छैन,” उहाँले भन्नुभयो, “सामग्री उपलब्ध नगरिँदा र भुक्तानी प्रक्रिया ढिलाइ हुँदा काम अघि बढाउन कठिन भएको छ।”




