देश

चुँदीरम्घालाई साहित्यिक पर्यटनको केन्द्र बनाइने

दमौली (तनहुँ) । भानु नगरपालिका–४ चुँदीरम्घालाई साहित्यिक पर्यटन केन्द्रका रूपमा विकास गरी सप्तधामका रूपमा रूपान्तरण गर्ने योजना अघि बढाइएको छ।

सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रवीन्द्र बोहरा का अनुसार उक्त स्थानमा भानु साहित्य उद्यान निर्माणका लागि चालु आर्थिक वर्षमा २० करोड रुपैयाँ बजेट विनियोजन गरी काम सुरु गरिएको छ। बोलपत्र आह्वान भइसकेको र मूल्याङ्कन प्रक्रिया चलिरहेको उनले जानकारी दिए।

आगामी वर्षका लागि पहुँच मार्ग निर्माण तथा भानुघर निर्माणका लागि समेत बजेट प्रस्ताव गरिएको विभागले जनाएको छ।

भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी का अनुसार गुरुयोजनाअनुसार ४३५ रोपनी जग्गा अधिग्रहण भइसकेको छ। परियोजनाको कुल लागत करिब एक अर्ब रुपैयाँ अनुमान गरिएको छ।

योजनाअन्तर्गत रम्घाडाँडामा भानु भवन, आदिकवि भानुभक्त आचार्यको ५४ फिट अग्लो प्रतिमा, साहित्यिक स्रष्टाहरूको मूर्ति, भानु साहित्यिक ग्राम, भानुबस्ती, प्रज्ञाभवन, वनस्पति उद्यान, वनभोजस्थल र पार्किङ क्षेत्र निर्माण गरिनेछ।

स्थानीय सन्देश आचार्यका अनुसार यो परियोजनाले क्षेत्रको सामाजिक, आर्थिक, सांस्कृतिक र साहित्यिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। हालसम्म उद्यान निर्माणमा करिब १ करोड ८० लाख रुपैयाँ खर्च भइसकेको जनाइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *