काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला प्रधानमन्त्री बालेन शाहले देखाएको व्यवहारप्रति आपत्ति जनाउँदै संसद्मा जवाफ माग गरेको छ ।
प्रतिनिधिसभाको बैठकमा कांग्रेसकी प्रमुख सचेतक वासना थापाले राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्रीले गरेको व्यवहार सामान्य नभएको बताइन् ।उनले संवैधानिक मर्यादा उल्लंघनको विषयलाई हल्का रूपमा लिन नहुने उल्लेख गर्दै यस्ता घटनाको पुनरावृत्ति हुन नदिन ध्यान दिनुपर्ने बताइन् ।
‘यो सामान्य दृश्य होइन । संवैधानिक मर्यादा उल्लंघनको विषयलाई सामान्य रूपमा लिनु हुँदैन,’ उनले भनिन्, ‘पद मात्र ठूलो होइन, संवैधानिक मर्यादा र जनविश्वास ठूलो कुरा हो ।’यस विषयमा प्रधानमन्त्री शाहले संसद्लाई स्पष्ट जवाफ दिनुपर्ने माग पनि कांग्रेसले गरेको छ ।
सोमबार राष्ट्रपति पौडेलले संघीय संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका बेला प्रधानमन्त्री शाह बीचमै उठेर बाहिरिएका थिए । उक्त घटनासँगै उनले लगाएको पोशाकबारे समेत सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा आलोचना भइरहेको छ ।




