चितवन। नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरे ले पार्टीभित्र कसैप्रति पनि पक्षपात नहुने बताएका छन् ।
आज चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले पार्टीमा परम्परागत गुटबन्दी नरहेको उल्लेख गर्दै १५औँ महाधिवेशन सबैलाई समेटेर अघि बढाइने बताए ।
महामन्त्री घिमिरेले पार्टीभित्र मतभेद देखिए पनि त्यसलाई सम्बोधन गर्दै सबैलाई अवसर र भूमिका दिने तयारी रहेको स्पष्ट पारे ।
उनले भने, “पार्टीभित्र मतभेद देखिन्छन् । त्यसलाई सम्बोधन गर्दै सबैलाई समेट्ने कुरामा हामी तयार छौँ । पार्टीमा अवसर, भूमिका दिने र सबैको राजनीतिक भविष्य सुनिश्चित गर्ने विषयमा हामी सचेत छौँ । अहिले हामी एकढिक्का भएर १५औँ महाधिवेशनको तयारीमा जुटेका छौँ ।”
हालै गरिएको केन्द्रीय समिति मनोनयन निर्णयले पनि पार्टीलाई समेटेर अघि बढाउने नेतृत्वको प्रतिबद्धता पुष्टि गरेको उनको भनाइ थियो ।
महामन्त्री घिमिरेले पार्टीमा ‘६०–४०’ को भागबन्डा वा अस्वस्थ गुटबन्दीको कुनै स्थान नरहेको उल्लेख गर्दै नेपाली कांग्रेस सबैको साझा थलोका रूपमा अघि बढ्ने बताए ।




