देश

सुदूरपश्चिममा फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा, धनगढीमा ढिलाइ

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका तीन पालिकामा निर्माणाधीन एकीकृत फोहरमैला व्यवस्थापन केन्द्रमध्ये दुई वटा सञ्चालनमा आएका छन् ।

अत्तरिया र शुक्लाफाँटा नगरपालिका मा निर्माण गरिएका फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आइसकेका छन् भने धनगढी उपमहानगरपालिका मा रहेको केन्द्र भने अझै सञ्चालनमा आउन सकेको छैन ।

क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत एसियाली विकास बैंक (एडीबी) को सहयोगमा यी परियोजना अघि बढाइएको हो । धनगढीको केन्द्र निर्माण सम्पन्न भए पनि ‘भेरियसन अर्डर’ (भिओ) प्रक्रिया पूरा नहुँदा सञ्चालनमा ढिलाइ भएको जनाइएको छ ।

सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनगढीका अनुसार करिब रु १ अर्ब ९ करोड लागत अनुमान गरिएको धनगढीको केन्द्रमा आवश्यक सवारीसाधन र थप संरचना समावेश गर्ने विषयमा प्रक्रिया अघि बढाइएको छ ।

अधिकारीहरूका अनुसार धनगढीको केन्द्रले करिब ३० वर्षसम्म नगरको फोहर व्यवस्थापन गर्न सक्ने क्षमता राख्छ । निर्माण कार्य चिनियाँ कम्पनीले तोकिएकै समयमा पूरा गरेको भए पनि प्रशासनिक प्रक्रिया ढिलाइको कारण सञ्चालन प्रभावित भएको हो ।

यसअघि अत्तरियामा करिब १० महिना र शुक्लाफाँटामा गत भदौदेखि नै फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएको बताइएको छ ।

शुक्लाफाँटा नगरपालिकामा करिब रु ३० करोड २५ लाख लागतमा निर्माण गरिएको केन्द्रले फोहरलाई पुनः प्रयोगयोग्य, कुहिने र प्रयोगविहीन गरी वर्गीकरण गरेर व्यवस्थापन गरिरहेको छ ।

नगरपालिकाले सबै वडामा कन्टेनर राखी नियमित फोहर संकलन गर्दै व्यवस्थापन केन्द्रमा लैजाने व्यवस्था मिलाएको जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *