काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले पार्टीभित्र क्रियाशील सदस्यता नवीकरणलाई लिएर देखिएको विवादलाई अनावश्यक भन्दै अब पार्टीको सम्पूर्ण ध्यान संगठन सुदृढीकरण र १५औँ महाधिवेशनको तयारीतर्फ केन्द्रित हुनुपर्ने बताएका छन्।
मंगलबार जनकपुरधाममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सदस्यता नवीकरणको प्रक्रिया यसअघि नै सम्पन्न भइसकेको दाबी गरे। उनका अनुसार, “१५औँ महाधिवेशनका लागि कार्यतालिका र व्यवस्थापन महामन्त्री गगन थापाको नेतृत्वमा बनिसकेको हो, त्यसअनुसार नवीकरण पूरा भएकाले पुनः विवाद बनाउनु उचित होइन।” निधीले नेपाली कांग्रेसले अब महाधिवेशनलाई ध्यानमा राखेर अघि बढ्ने विषयमा सबैसँग हातेमालो गरेर जानुपर्ने धारणा राखे ।
निधीले केही पक्षले व्यक्तिगत वा समूहगत स्वार्थका आधारमा सदस्यता नवीकरणको विषयलाई अनावश्यक रूपमा विवादित बनाइरहेको टिप्पणी गरे। उनले पार्टीको प्राथमिकता अब संगठन मजबुतीकरण र महाधिवेशन तयारीमै हुनुपर्नेमा जोड दिए।
उनले महाधिवेशनका लागि आवश्यक संरचनागत तयारी अघि बढिरहेको उल्लेख गर्दै कार्यालय सञ्चालनका लागि नयाँ भवन खोज्ने प्रक्रिया समेत चलिरहेको जानकारी दिए। “महाधिवेशनलाई व्यवस्थित बनाउन छुट्टै कार्यस्थल आवश्यक देखिएकाले भवन खोजिरहेका छौँ,” उनले भने।
पार्टीभित्र विभिन्न समूहबीच संवाद जारी रहे पनि पूर्ण सहमति अझै नबनेको निधीको भनाइ छ। विशेष महाधिवेशनलाई लिएर उठेका असन्तुष्टिबारे उनले प्रतिनिधित्वको विषयमा फरक मत भए पनि समाधान संवादबाटै खोजिनुपर्ने धारणा राखे।
प्रदेशस्तरीय छलफललाई तीव्र बनाइएको उल्लेख गर्दै उनले कोशी प्रदेशमा छलफल सम्पन्न भइसकेको र बागमतीमा जारी रहेको जानकारी दिए। अन्य प्रदेशमा पनि क्रमशः छलफल अघि बढाइने उनले बताए।
उनले सबै पक्षबीच साझा समझदारी कायम गरी १५औँ महाधिवेशनलाई एकताबद्ध रूपमा अघि बढाउनु अहिलेको मुख्य आवश्यकता रहेको बताएका छन्।




