काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समिति ले विभिन्न आर्थिक तथा वित्तीय विषयमा अध्ययन गर्न चार वटा विषयगत उपसमिति गठन गरेको छ। मंगलबार बसेको समितिको बैठकले सार्वजनिक वित्त, वित्तीय क्षेत्र तथा आर्थिक विकास, निजी क्षेत्र तथा लगानी प्रवर्द्धन तथा वित्तीय संघीयता अध्ययनका लागि छुट्टाछुट्टै उपसमिति बनाउने निर्णय गरेको हो।
समितिका सभापति डा.कृष्णहरि बुढाथोकी का अनुसार उपसमितिहरूको कार्यक्षेत्र, जिम्मेवारी तथा कार्यविधि समेटिएको कार्यादेश ९टीओआर० समेत तयार पारिएको छ। गठित उपसमितिहरूले आफ्नो जिम्मेवारीअन्तर्गतको अध्ययन तथा अनुसन्धान कार्य ६ महिनाभित्र सम्पन्न गरी समितिसमक्ष लिखित प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था गरिएको छ। आवश्यक परेमा समय थप गर्न सकिने भए पनि एक महिनाभन्दा बढी अवधि थप गर्न नपाइने जनाइएको छ। समितिले उपसमितिमा रहने सांसदहरूको नामावलीसमेत तय गरेको जनाएको छ।












