काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यालयले क्रियाशील सदस्यता अद्यावधिक प्रक्रियालाई थप सहज, प्रभावकारी तथा प्रविधिमैत्री बनाउन ‘एआई कल सेन्टर’ सञ्चालनमा ल्याएको छ।
क्रियाशील सदस्यता सम्बन्धी समस्या, जिज्ञासा तथा सुझाव सुन्न र समाधान प्रक्रियालाई सहज बनाउन कांग्रेसले ‘कांग्रेस एआई साथी’ सेवा सुरु गरेको जनाएको छ।
कांग्रेसद्वारा जारी सूचनामा अब ९७०१२५५५५५ नम्बरमा सम्पर्क गरी ‘कांग्रेस एआई साथी’सँग प्रत्यक्ष संवाद गर्न सकिने उल्लेख गरिएको छ। उक्त एआई सेवा सातै दिन, चौबीसै घण्टा (२४/७) सञ्चालनमा रहने र सदस्यता अद्यावधिक प्रक्रियासँग सम्बन्धित समस्या, गुनासा, जिज्ञासा तथा सुझाव तत्काल सङ्कलन गरी आवश्यक समाधानका लागि सहजीकरण गर्ने जनाइएको छ।
सूचनाअनुसार एआई साथीले सदस्यतासम्बन्धी आवश्यक जानकारी उपलब्ध गराउनुका साथै गुनासा तथा सुझावहरू सम्बन्धित निकायसम्म पुर्याउने कार्य पनि गर्नेछ।
त्यसैगरी, नेपाली कांग्रेस केन्द्रीय कार्यालयअन्तर्गतको डिजिटल सहयोग टोलीलाई समेत सक्रिय रूपमा परिचालन गरिएको जनाइएको छ। आवश्यक सहयोग तथा सहजीकरणका लागि ९७१२०५६३५१ र ९७१२०५६३५२ नम्बरमा समेत सम्पर्क गर्न सकिने व्यवस्था गरिएको कांग्रेसले जनाएको छ।




