खेलकुद

अख्तियार छानबिनमा असहयोग गरेको आरोप, क्यानमाथि कारवाहीको तयारी

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएका उजुरीमाथिको छानबिनमा आवश्यक सहयोग नगरेको भन्दै नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध कारवाही प्रक्रिया अघि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई निर्देशन दिएको छ ।

मन्त्रालयले वैशाख १४ गते राखेपलाई पठाएको पत्रमा क्यानसँग अन्तिम पटक स्पष्टीकरण माग्दै आवश्यक कारवाही तथा निलम्बनको प्रक्रिया अघि बढाउन भनिएको हो । उक्त पत्र २३ वैशाखमा राखेपमा दर्ता भएको जनाइएको छ ।

अख्तियारमा २०८१ मंसिर ७ र २०८१ फागुन १२ गते दर्ता भएका उजुरीका आधारमा मन्त्रालयले सचिवस्तर र मन्त्रीस्तरीय निर्णयमार्फत छानबिन समिति गठन गरेको थियो । समितिलाई आवश्यक अभिलेख तथा कागजात उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्था हुँदाहुँदै क्यानले सहयोग नगरेको मन्त्रालयको निष्कर्ष छ ।

खेलकुद विकास ऐन २०७७ को दफा २८ अन्तर्गत मन्त्रालय तथा परिषद्ले मागेका कागजात उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै मन्त्रालयले क्यानले कानुनी दायित्व पालना नगरेको जनाएको छ ।

मन्त्रीस्तरीय निर्णयअनुसार अब क्यानलाई अन्तिम चेतावनीसहित स्पष्टीकरण सोधिनेछ । मन्त्रालयले खेलकुद विकास ऐन २०७७ को दफा २९ अनुसार कारवाही र निलम्बनसम्मको प्रक्रिया अघि बढाउन सकिने संकेत गरेको छ ।

मन्त्रालयले आयोगको पत्रअनुसार माग गरिएका कागजात र स्पष्ट जवाफ नआए क्यानविरुद्ध थप कानुनी प्रक्रिया अघि बढाउन राखेपलाई निर्देशन दिएको जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *