काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा नवनिर्वाचित सांसद हर्क साङपाङले किसानका वास्तविक समस्या बुझ्न अर्थमन्त्री स्वर्णीम वाग्लेलाई खेतबारीमै पुगेर प्रत्यक्ष अनुगमन गर्न सुझाव दिएका छन्। सांसद राईले सामाजिक संजाल फेसबुकमा एक स्टाटस सार्वजनि गर्दे अर्थमन्त्री वाग्लेलाई यस्तो सुझाव दिएका हुन् । उनले कागजी योजनाभन्दा व्यवहारिक अनुभवले मात्रै कृषि क्षेत्र सुधार्न मद्दत पुग्ने धारणा राखेका छन्।
साङपाङले विशेषगरी अर्गानिक कृषि उत्पादनमा संलग्न किसानहरू अनेक चुनौतीसँग जुधिरहेको उल्लेख गर्दै उनीहरूको सामाजिक तथा आर्थिक स्तर उकास्न सरकार गम्भीर बन्नुपर्ने बताए। ग्रामीण क्षेत्रमा उत्पादित विषादीरहित कृषिउपज बजार अभावका कारण खेर जाने गरेको र उचित मूल्य नपाउने समस्या व्यापक रहेको उनको भनाइ छ।
उनका अनुसार किसानहरूले समयमा मल, बिउ, सिँचाइ सुविधा र अनुदान नपाउने गुनासो निरन्तर दोहोरिँदै आएको छ। अर्कोतर्फ, सहरमा भने उपभोक्ताहरू विषादीयुक्त खाद्यान्न किन्न बाध्य हुने अवस्था रहेको उनले औंल्याए। सांसद साङपाङले कृषि क्षेत्रको यथार्थ बुझ्न मन्त्री स्वयं किसानसँग बस्नुपर्ने सुझाव दिँदै भने, “खेतबारीमा पुगेर किसानको दैनिकी नजिकबाट अनुभव गरेपछि मात्रै अर्थतन्त्र सुधार्ने सही बाटो पहिल्याउन सकिन्छ।”
उनले सरकारलाई उत्पादनदेखि बजारीकरणसम्मको सम्पूर्ण प्रणाली सुधार गर्दै किसान र उपभोक्ता दुवैलाई लाभ हुने नीतिगत हस्तक्षेप गर्न आग्रह गरेका छन्। उनले फेसबुकमा यस्तो लेखेका छन् –‘अर्थ मन्त्री ज्यु, खेतबारीमा डुल्नुस् र कृशकको घरमा १ हप्ता बस्नुस् अनि बल्ल बन्छ यो देशको अर्थतन्त्र ! यो कुरा बुझ्न सजिलो होला नहोला थाहा छैन तर कुरा यही हो’




