काठमाडौं । पत्थरीको शल्यक्रिया गरेका नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको भेटघाट हालका लागि नियन्त्रित गरिएको छ। शल्यक्रियापछि देखिएको घाउमा संक्रमण (इन्फेक्सन)को जोखिम बढेपछि चिकित्सकको सुझावअनुसार उनले आरामलाई प्राथमिकता दिएका छन्।
हाल ओली भक्तपुरको गुण्डुस्थित निवासको माथिल्लो तलामा विश्राम गरिरहेका छन्। उनका स्वकीय सचिव राजेश बज्राचार्यका अनुसार घाउमा देखिएको संक्रमण नियन्त्रणमा लिन चिकित्सकहरूले भेटघाट सीमित गर्न सल्लाह दिएका हुन्।
बज्राचार्यका अनुसार हालै गरिएको परीक्षणमा स्वास्थ्य अवस्थामा सुधार देखिए पनि पूर्ण जोखिम टरेको छैन। त्यसैले अझै १० देखि १५ दिनसम्म विशेष सावधानी अपनाउनुपर्ने चिकित्सकको सुझाव रहेको उनले बताए। “अपरेशनपछि घाउमा सामान्य संक्रमण देखिएपछि चिकित्सकको सल्लाहअनुसार भेटघाट घटाइएको हो,” उनले भने, “भिडभाड र अत्यधिक भेटघाटले स्वास्थ्यमा असर पर्न सक्ने भएकाले सावधानी अपनाइएको छ।”
उनका अनुसार केही दिनअघि अवस्था बिग्रिएपछि अस्पताल लैजानुपर्ने स्थिति समेत बनेको थियो। तर पछि घरमै चिकित्सक बोलाएर उपचार गरिएको र नियमित ड्रेसिङ तथा रगत परीक्षण भइरहेको छ। पार्टीका उपाध्यक्ष, महासचिवलगायत केही शीर्ष नेताहरूले भने आवश्यक भेटघाटका क्रममा दूरी कायम गर्दै संक्षिप्त रूपमा कुराकानी गरिरहेको बताइएको छ।
स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै चिकित्सकहरूले आगामी केही साता संक्रमण बढ्न नदिन कडा सतर्कता अपनाउन सुझाव दिएका छन्। सोही कारण भेटघाट नियन्त्रणको व्यवस्था अझ केही दिन जारी रहने जनाइएको छ।
पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली हाल चिकित्सकहरूको निरन्तर निगरानीमा आराम गरिरहेका छन्।




