अत्तरिया (कैलाली)। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कैलालीमा गहुँ खरिद सुरु गरेको छ ।
प्रादेशिक कार्यालय धनगढीमार्फत आजदेखि जिल्लाका मोहनपुर र टीकापुरस्थित गोदामबाट किसान तथा कृषिसम्बन्धी सहकारीहरूबाट गहुँ खरिद सुरु गरिएको हो ।
कार्यालय प्रमुख दीपक थापाका अनुसार सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्य तीन हजार ९४५ रुपैयाँभन्दा बढी मूल्यमा गहुँ खरिद भइरहेको छ । कम्पनीले किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रति क्विन्टल चार हजार २५० रुपैयाँका दरले गहुँ खरिद गरिरहेको उनले जानकारी दिए ।
कम्पनीले यस वर्ष जिल्लामा १० हजार क्विन्टल गहुँ खरिद गर्ने लक्ष्य लिएको छ । प्रतिकिसान अधिकतम ७० क्विन्टल र सहकारीमार्फत अधिकतम ५०० क्विन्टलसम्म गहुँ खरिद गरिने योजना रहेको छ ।
स्थानीय तहले थप गोदाम उपलब्ध गराए अन्य स्थानबाट पनि गहुँ खरिद विस्तार गरिने कम्पनीले जनाएको छ ।गहुँ बिक्री गर्न आउने किसानले परिचय खुल्ने कागजात, वडाबाट प्रमाणित किसान सिफारिस वा प्रमाणपत्र र स्वघोषणापत्र अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ । खरिद गरिएको गहुँको भुक्तानी भने बैंक खातामार्फत अनलाइन माध्यमबाट गरिने बताइएको छ ।
गत वर्ष कम्पनीको पाँच हजार क्विन्टलको लक्ष्य रहे पनि जम्मा ५२ दशमलव पाँच क्विन्टल मात्रै गहुँ खरिद भएको थियो ।




