देश

संसदीय दलको नेता आङ्देम्बेलाई बनाउने कांग्रेसको निर्णय

काठमाडौ। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भीष्मराज आङ्देम्बेलाई पार्टी संसदीय दलको नेता बनाउने सर्वसम्मत निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको बैठकमा सभापति गगनकुमार थापाको प्रस्तावमा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसद आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने सर्वसम्मत निर्णय गरेको महामन्त्री गुरुराज घिमिरेले जानकारी दिए । कांग्रेस कार्यसम्पादन समितिको निर्णयअनुसार आजै बस्ने संसदीय दलको बैठकलाई नेतामा आङ्देम्बेको नाम अनुमोदन गर्ने जानकारी पनि उनले बताए ।

संसदीय दलको नेतामा तीन जना नेताले दाबी गरेपछि यसअघि बसेका बैठक उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा दुवै महामन्त्री रहेको सहमति गराउने समिति गठन भएको थियो । सो समितिको गृहकार्यपछि आज बसेको कार्यसम्पादन समितिले संसदीय दलको नेता सर्वसम्मत गराउने निर्णय गरेको हो । आजै बस्ने संसदीय दलको बैठकले नेता चयनको बाँकी प्रक्रिया अघि बढाउने जनाइएको छ ।

विसं २०६४ पछि पहिलोपटक कांग्रेस संसदीय दलको नेता सर्वसम्मत रुपमा निर्वाचित हुन लागेको जनाइएको छ ।

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *