काठमाडौं । उचित व्यवस्थापन र विकल्पबिना बस्ती हटाउने सरकारी कदमको विरोधमा रुपन्देहीका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले आन्दोलन घोषणा गरेका छन्। संघर्ष समितिले चरणबद्ध कार्यक्रम सार्वजनिक गर्दै २४ वैशाखमा बुटवलमा ठूलो प्रदर्शन गर्ने तयारी गरेका हुन् । मंगलबार आयोजित पत्रकार सम्मेलनमा संघर्ष समितिका संयोजक खगेन्द्र पौडेलले हजारौँ सुकुम्बासीको सहभागितामा विरोध र्याली निकालिने जानकारी दिए। उनका अनुसार राजमार्ग चौराहाबाट सुरु हुने र्याली मिलनचोक हुँदै ट्राफिक चोकसम्म पुगेर कोण सभामा परिणत हुनेछ। त्यसपछि स्थानीय तह र प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाइने कार्यक्रम छ।
संघर्ष समितिले सरकारमाथि पर्याप्त छलफल र तयारीबिना बस्ती हटाउने प्रयास गरेको आरोप लगाएको छ। विशेषगरी हालका कदमलाई “डोजर आतंक”को संज्ञा दिँदै विगतमा नापजाँच भइसकेका जग्गामा लालपुर्जा उपलब्ध गराउनुपर्ने माग अघि सारेको छ। कर तिर्न तयार भए पनि जबर्जस्ती विस्थापन स्वीकार्य नहुने उनीहरूको स्पष्ट धारणा छ। सरकारले बिना विकल्प हटाउने निर्णय नफेरे आन्दोलन थप सशक्त बनाइने चेतावनी पनि दिइएको छ। समितिले संविधानअनुसार मानवअधिकारको सम्मान गर्दै वैकल्पिक व्यवस्था सुनिश्चित गरेर मात्र कुनै कदम चाल्न आग्रह गरेको छ।
प्रदर्शनमा बुटवलसहित देवदह, तिलोत्तमा, सियारी र शुद्धोधन क्षेत्रका बस्तीबाट २० हजारभन्दा बढी मानिस सहभागी हुने दाबी गरिएको छ। पछिल्लो समय काठमाडौँलगायत क्षेत्रमा डोजर चलाइएका घटनापछि रुपन्देहीका सुकुम्बासीहरूमा त्रास बढेको समितिको भनाइ छ। यस्तै, सरकारले आफ्नो निर्णय नफेरे राष्ट्रियस्तरको आन्दोलनको तयारी समेत भइरहेको जनाइएको छ। उता बुटवल उपमहानगरपालिकाले भने अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने अभियानलाई निरन्तरता दिँदै आएको छ। जिल्लामा करिब ८० हजार भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी रहेको अनुमान गरिएको छ।




