देश

आफ्नै बहुमत भएको सदनप्रति सरकारको विश्वास रहेनछः सभापति थापा

रौतहट । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारले संसद र नागरिक दुवैलाई हेपेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभा निर्वाचनपछि पहिलो पटक आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ का मतदातासँग भेटघाट गर्न जाने क्रममा रौतहटको चन्द्रनिगाहपुरमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा थापाले सरकारसँग आफ्नै बहुमत भएको सदनप्रति समेत विश्वास नरहेको टिप्पणी गरे ।

उनले संसद्को मिति तोकेर आह्वान भइसकेको अवस्थामा बिना सूचना बैठक स्थगित गरिनु सरकारको गैरजिम्मेवारीपन भएको बताए ।

थापाले भने, ‘सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ । संसद्को मिति तोकेर आह्वान भइसकेको अवस्थामा फेरि कुनै सूचना नदिई बैठक स्थगित गरिनुले सरकारको गैरजिम्मेवारीपन प्रष्ट पार्छ।’

उनले सांसदहरूको अनुरोधमा बैठक स्थगित गरिएको भनेर गरिएको प्रचारलाई ‘सरासर ढाँटेको र हेपेको’ संज्ञा दिए ।

संवैधानिक परिषद्को बनोटका विषयमा पनि उनले विगतका प्रधानमन्त्रीहरूले जस्तै अहिले पनि आफूअनुकूल चलखेल गर्ने प्रवृत्ति जारी रहेको आरोप लगाए ।

थापाले शासकीय सुधारका काममा सरकारलाई सहयोग गर्न तयार रहे पनि सदन र अन्य दललाई पेलेर जाने प्रवृत्तिविरुद्ध कांग्रेस चुप नबस्ने चेतावनीसमेत दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *