काठमाडौँ। महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको नियुक्तिसम्बन्धी योग्यतामाथि प्रश्न उठाउँदै दायर गरिएका तीनवटा रिट निवेदनमा आज सुनुवाइ हुँदैछ ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार बुधबार कँडेलको नियुक्तिविरुद्ध तीनवटा रिट दर्ता भएका थिए ।
अधिवक्ता माधव बस्नेत, दिपकराज जोशीलगायतले दायर गरेका रिटमा महान्यायाधिवक्ताजस्तो महत्वपूर्ण पदमा अयोग्य व्यक्ति नियुक्त गरिएको दाबी गरिएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहले २०८२ चैत २२ गते डा. कँडेललाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको थियो ।
संविधानअनुसार सर्वोच्च अदालतको न्यायाधीश हुन योग्यता पुगेको व्यक्ति महान्यायाधिवक्ता नियुक्त हुन सक्ने व्यवस्था छ । रिट निवेदनमा भने निरन्तर १५ वर्ष कानून व्यवसायमा संलग्न हुनुपर्ने मापदण्ड पूरा नगरेको आरोप लगाइएको छ ।




