देश

डिजिटल नेपाल अभियानलाई तीव्रता दिने सरकारको योजना : मन्त्री तिमिल्सिना

काठमाडौं । विक्रम तिमिल्सिनाले सुरक्षित, समावेशी र भरपर्दो डिजिटल प्रणाली निर्माण सरकारको प्रमुख प्राथमिकतामा परेको बताएका छन्। राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस का अवसरमा जारी सन्देशमा उनले सूचना प्रविधि अब सुशासन, सेवा प्रवाह र आर्थिक समृद्धिको आधार बनेको उल्लेख गरेका छन्।

उनका अनुसार सरकारले ‘डिजिटल नेपाल’ अवधारणालाई कार्यान्वयन गर्दै सार्वजनिक सेवाहरूलाई सरल, पारदर्शी र नागरिकमैत्री बनाउने दिशामा काम अघि बढाइरहेको छ। साथै, दीर्घकालीन सूचना प्रविधि रणनीति निर्माण र डिजिटल सार्वजनिक पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखिएको उनले जनाए।

मन्त्री तिमिल्सिनाले नागरिकलाई एउटै डिजिटल प्लेटफर्ममार्फत आवश्यक सेवा उपलब्ध गराउने उद्देश्यले नागरिक एपलाई सुदृढ बनाइँदै गएको जानकारी दिएका छन्। यससँगै, नेपाललाई सूचना प्रविधि सेवा, डेटा अर्थतन्त्र र कृत्रिम बुद्धिमत्ता क्षेत्रमा क्षेत्रीय केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको उनको भनाइ छ।

उच्च गतिको इन्टरनेट विस्तार, डाटा सेन्टर सुदृढीकरण, डिजिटल साक्षरता अभिवृद्धि र दक्ष जनशक्ति उत्पादनमार्फत डिजिटल विभाजन घटाउने दिशामा सरकार अघि बढिरहेको उनले स्पष्ट पारे।

डिजिटल रूपान्तरण सफल बनाउन निजी क्षेत्र, शैक्षिक संस्था, विकास साझेदार र नागरिकको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै उनले सबैलाई साझा प्रयासमा जोडिन आह्वान गरेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *