काठमाडौँ। तीन महिनादेखि निलम्बनमा रहेका अखिल नेपाल फुटबल सङ्घ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्वाङसहित पदाधिकारीको विदेश भ्रमणमा रोक लगाइएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एन्फाको आर्थिक अनियमिततासम्बन्धी छानबिन गर्न कार्यकारी सदस्य कमल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय उपसमिति गठन गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खेलकुद मन्त्रालयमार्फत प्राप्त पत्रका आधारमा उक्त छानबिन अघि बढाइएको हो ।
छानबिनलाई प्रभावकारी बनाउन राखेपले एन्फा पदाधिकारीको विदेश भ्रमण रोक्न खेलकुद मन्त्रालयलाई पत्राचार गरेको थियो । त्यसपछि मन्त्रालयले गृह मन्त्रालयमार्फत अध्यागमन विभागलाई निर्देशन दिएसँगै सम्बन्धित पदाधिकारीहरूको राहदानी रोक्का गरिएको हो ।
राखेपका सदस्यसचिव राम चरित्र मेहताले कानूनभन्दा माथि कोही नरहेको भन्दै एन्फासम्बन्धी विषयमा छानबिन जारी रहेको बताए । उनले खेलकुद क्षेत्रमा देखिँदै आएको राजनीतिक हस्तक्षेप अन्त्य गर्ने अभियानमा राखेप लागेको पनि स्पष्ट पारे ।
यसअघि राखेपको निर्देशनविपरीत एन्फाले ‘अर्ली इलेक्सन’ गर्न खोजेपछि गत चैत ११ गते एन्फालाई तीन महिनाका लागि निलम्बन गरिएको थियो ।
निलम्बनकै बीच एन्फा अध्यक्ष नेम्वाङसहित केही पदाधिकारी विश्व फुटबल महासङ्घ (फिफा) को कंग्रेसमा सहभागी हुन क्यानडा जाने तयारीमा रहेका थिए ।




